कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालबाट विद्यार्थीलाई विदेश पठाउने काममा मात्र सीमित नभई विदेशी विद्यार्थीलाई समेत नेपालमा अध्ययनका लागि आकर्षित गर्ने वातावरण बनाउन शैक्षिक परामर्श व्यवसायीलाई आग्रह गरेका छन्।
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को तेस्रो संस्करणको ‘इक्यान लिडर्स मिट ३.०’ को बिर्तामोडमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले शैक्षिक परामर्श व्यवसायीले विद्यार्थीलाई विदेश पठाउनेसँगै नेपालमा विदेशी विद्यार्थी भित्र्याउने अभियानमा समेत भूमिका खेल्नुपर्ने बताए।
उनले विशेषगरी कोशी प्रदेशलाई विदेशी विद्यार्थीका लागि अध्ययनको गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राखे। कोशी प्रदेशको शैक्षिक तथा पर्यटन क्षेत्रको विकासमा शैक्षिक परामर्श व्यवसायीको महत्वपूर्ण योगदान हुन सक्ने उनको भनाइ थियो।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई सांस्कृतिक तथा पूर्वीय दर्शन अध्ययनको केन्द्रका रूपमा विकास गर्न सकिने बताए। नेपालको संस्कृति, पूर्वीय दर्शन, इतिहास तथा पौराणिक महत्वका विषयमा अध्ययन गर्न विभिन्न देशका विद्यार्थीलाई नेपाल ल्याउन सकिने उनले बताए।
यस्ता शैक्षिक संस्था तथा विश्वविद्यालय सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता पनि मुख्यमन्त्री कार्कीले जनाए। उनका अनुसार शिक्षा र पर्यटनलाई एकअर्कासँग जोडेर अघि बढाउन सके कोशी प्रदेशलाई अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्ने गन्तव्यका रूपमा विकास गर्न सकिनेछ।
इक्यान झापाको आतिथ्यमा बिर्तामोडमा असोज ४ गतेसम्म सञ्चालन हुने ‘इक्यान लिडर्स मिट ३.०’ मा देशभरबाट करिब १५० प्रतिनिधिको सहभागिता रहेको छ। कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका समसामयिक विषय, व्यवसायिक चुनौती तथा आगामी रणनीतिबारे छलफल हुने आयोजकले जनाएको छ।










प्रतिक्रिया