यू–१६ टी–वान रग्बीको उपाधि इन्टरनेसनल जोसेफ स्कुललाई

बुढानीलकण्ठमा आयोजित यू–१६ ब्वाइज टी–वान रग्बी प्रतियोगिताको उपाधि इन्टरनेसनल जोसेफ स्कुलले जितेको छ।

नेपाल विद्यालय रग्बी आयोगको आयोजनामा बुढानीलकण्ठ नगरपालिका–१०, आकाशेधारास्थित ह्यान्डबल बहुउद्देश्यीय खेलमैदानमा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा इन्टरनेसनल जोसेफ स्कुलले जोसेफ हाइस्कुललाई ३–० ले पराजित गर्दै उपाधि हात पारेको हो।

उपाधिसँगै इन्टरनेसनल जोसेफ स्कुलले नगद ७ हजार रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता जोसेफ हाइस्कुलले ५ हजार रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि पनि विजेता टोलीकै पासाङ शेर्पाले हात पारे। उनले ट्रफी प्राप्त गरे।

तेस्रो स्थानका लागि भएको खेलमा शिशु मिलन स्कुलले अमर स्कुललाई १–० ले पराजित गर्‍यो। तेस्रो भएको शिशु मिलनले ३ हजार तथा चौथो भएको अमर स्कुलले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको समापन समारोहमा बुढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराई प्रमुख अतिथि तथा नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे विशेष अतिथिका रूपमा सहभागी थिए।

समापन कार्यक्रममा वडाध्यक्ष भट्टराईले बुढानीलकण्ठ–१० रग्बीसहित विभिन्न खेलका लागि सम्भावनायुक्त क्षेत्र रहेको बताए। विद्यालय तहबाटै खेलाडी उत्पादन गर्न सकिने भएकाले आगामी दिनमा पनि यस्ता प्रतियोगिता सञ्चालन गर्न आफ्नो तर्फबाट निरन्तर सहयोग रहने उनले बताए।

यसअघि प्रतियोगिताको उद्घाटन पूर्वऊर्जामन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्य तथा नेपाल रग्बी संघका अध्यक्ष डा. दीपक देवकोटाको विशेष आतिथ्यमा भएको थियो। प्रतियोगितामा १७ विद्यालयले सहभागिता जनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार