पहिलो महिनामै व्यापार घाटा २४.९ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालको वस्तु व्यापार घाटा २४.९ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वस्तु व्यापार घाटा २.५ प्रतिशतले मात्रै बढेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा नेपालको कुल वस्तु निर्यात ६१.७ प्रतिशतले वृद्धि भई ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। निर्याततर्फ भारत र चीन दुवै बजारमा उल्लेख्य वृद्धि देखिएको छ। भारततर्फ नेपालको निर्यात ७१ प्रतिशत र चीनतर्फ २८७.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

वस्तु निर्यातमा भएको वृद्धिमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, जुटका सामान र पार्टिकल बोर्डको मुख्य योगदान रहेको छ। यस अवधिमा यी वस्तुको निर्यात बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। यद्यपि आयुर्वेदिक औषधि, जडीबुटी, प्रशोधित छाला तथा नेपाली कागजको निर्यात भने घटेको छ।

निर्यातसँगै वस्तु आयातमा पनि उल्लेख्य वृद्धि भएको छ। समीक्षा महिनामा कुल वस्तु आयात ३१ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। पेट्रोलियम पदार्थ, रासायनिक मल, खाने तेल तथा कच्चा भटमासको तेलको आयात बढेको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी धान, चामल, सुन, अलकत्रा, कोइला तथा मेडिकल सामानको आयात भने घटेको छ। आयातको तुलनामा निर्यातको हिस्सा बढे पनि व्यापार असन्तुलन भने थप फराकिलो भएको देखिन्छ।

समीक्षा अवधिमा नेपालको निर्यात–आयात अनुपात २०.६ प्रतिशत पुगेको छ। अर्थात् नेपालले १ सय रुपैयाँ बराबरको वस्तु आयात गर्दा करिब २० रुपैयाँ ६० पैसाको मात्रै वस्तु निर्यात गरेको देखिन्छ।

पहिलो महिनाको तथ्यांकले निर्यातमा उल्लेख्य सुधार देखिए पनि आयातको आकार अझै ठूलो रहेकाले कुल वस्तु व्यापार घाटा बढेको देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार