विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

विद्यालय शिक्षा विधेयकको नयाँ मस्यौदा तयार गर्ने प्रक्रिया अघि बढाउन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ।

मन्त्रालयले शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा मन्त्रालयका पदाधिकारीसँगै शिक्षा क्षेत्रका विज्ञलाई समेत समेटिएको मन्त्रालयले जनाएको छ।

विद्यालय शिक्षा विधेयकको मस्यौदासम्बन्धी प्राविधिक कामलाई तीव्रता दिने उद्देश्यले कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ। कार्यदलले विद्यालय शिक्षाका विभिन्न पक्षलाई समेट्दै दीर्घकालीन सुधारको दृष्टिकोणबाट विधेयकको मस्यौदा तयार गर्नेछ।

यसअघि तत्कालीन संसद्मा पेस भएको विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको थियो। तर, विधेयकसम्बन्धी प्रक्रिया त्यसपछि अघि बढ्न सकेको थिएन।

यसपटक मन्त्रालयले साविकको विधेयकको मस्यौदालाई समेत आधार बनाएर विद्यालय शिक्षाका बहुआयामिक पक्ष, वर्तमान आवश्यकता र दीर्घकालीन सुधारका विषय समेटेर नयाँ मस्यौदा तयार गर्ने जनाएको छ।

विधेयक निर्माणका क्रममा सरोकारवालाको वास्तविक माग र आवश्यकता पहिचान गर्न मन्त्रालयले यसअघि नै सातै प्रदेशमा नीति संवाद सञ्चालन गरिसकेको छ। आगामी दिनमा अन्य सरोकारवालासँग समेत क्रमशः संवाद गरी सुझाव सङ्कलन गर्ने मन्त्रालयको तयारी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार