सेनाका पूर्वप्रधानसेनापति आठजना एकै ठाउँ : भूतपूर्व सैनिक संघको ‘संरक्षक मण्डल’ मा

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघको इतिहासमा एउटा नयाँ र ऐतिहासिक अध्यायको सुरुवात भएको छ। देश र संगठनको हितका लागि जीवन अर्पेका भूतपूर्व सैनिकहरूको साझा धरोहर मानिने यस संघलाई अझ सबल, नीतिगत रूपमा बलियो र संरक्षित बनाउन एक अभूतपूर्व कदम चालिएको छ।

संघको विधानको धारा ४६ मा रहेको विशेष व्यवस्थालाई टेकेर इतिहासमै पहिलो पटक नेपाली सेनाका ८ जना पूर्वप्रधानसेनापति (महारथीहरू) को प्रतिक्षित र गरिमामय सहभागितामा ‘संरक्षक मण्डल’ को गठन गरिएको छ।

संघको सामरिक नीति निर्माण गर्ने, संगठनलाई वैचारिक र सांगठनिक रूपमा सबलीकरण गर्ने, अनि यस संघको साख र सम्पत्तिको संरक्षण गर्ने जस्ता अत्यन्तै महत्वपूर्ण जिम्मेवारी बोकेर यो शीर्षस्थ अंगको जन्म भएको हो। यस उच्चस्तरीय मण्डलमा नेपाली सेनाको नेतृत्व सम्हालिसकेका देशका प्रतिष्ठित ८ पूर्वप्रधानसेनापतिहरूको एउटै मञ्चमा बलियो ऐक्यबद्धता जुटेको छ ।

यो मण्डलमा पूर्व सेतापतिहरु प्रज्वल्लशम्शेर जबरा, प्यारजंग थापा, रुकमाङ्गद कटवाल, छत्रमानसिंह गुरुङ्ग, गौरवशम्शेर जबरा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मा रहनु भएको संघका केन्द्रीय सभापति तथा पूर्व सहायक रथी डा केशरबहादुर भण्डारीले जानकारी दिनु भयो ।

यस संरक्षक मण्डलमा समेटिएका यी नेतृत्वका धरोहरहरूको लामो सैन्य अनुभव, दूरगामी दृष्टिकोण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचानले संघलाई नयाँ उचाइमा लैजाने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार