संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुन ओलीको आग्रह

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै ओलीले मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका हुन्।

उनले लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनका क्रममा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि थप प्रेरित गरेको ओलीले स्मरण गरेका छन्।

संविधान निर्माणका क्रममा विभिन्न चुनौतीको सामना गर्दै आफ्नो पार्टी नेतृत्वको सरकारले छोटो समयमै आवश्यक कानुन निर्माण तथा संरचनागत विकासमार्फत संविधान कार्यान्वयनको चरणमा अघि बढाएको दाबी पनि ओलीले गरेका छन्।

संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न अघि बढ्नुपर्नेमा जोड दिँदै ओलीले संविधान दिवसका अवसरमा सबै नेपालीलाई शुभकामना दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार