नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई पार्टीको संगठन र व्यवहारमा पुनःस्थापित गर्नुपर्ने बताएका छन्।
गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले कांग्रेसको आगामी १५औँ महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रियामा सीमित नगरी अग्रज नेताहरूले स्थापित गरेको लोकतान्त्रिक मूल्य र आदर्शलाई व्यवहारमा उतार्ने अवसरका रूपमा लिनुपर्ने बताएका हुन्।
थापाले समय र चुनौती परिवर्तन भए पनि लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन परिस्थितिमा सही पक्षमा उभिने साहसको आवश्यकता अझ बढेको बताएका छन्। उनका अनुसार कांग्रेसले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार आफूलाई थप सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउँदै लैजान आवश्यक छ।
‘हामी १५औँ महाधिवेशनको यात्रामा छौं। यो केवल नेतृत्व चयन गर्ने अवसर होइन, गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुनःस्थापित गर्ने अवसर पनि हो,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले गणेशमान सिंहलाई लोकतन्त्रका लागि जीवन समर्पण गरेका तथा कठिन परिस्थितिमा समेत आफ्नो अडानबाट विचलित नभएका साहसी, त्यागी र निष्ठावान् नेताका रूपमा स्मरण गरेका छन्। गणेशमानका आदर्शलाई आत्मसात् गर्दै कांग्रेसलाई नयाँ पुस्ताको अपेक्षा र समयको आवश्यकताअनुसार अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।
थापाले १५औँ महाधिवेशन कांग्रेसको आन्तरिक नेतृत्व चयनसँगै पार्टीको लोकतान्त्रिक चरित्र, संगठनात्मक अभ्यास र जनतासँगको सम्बन्धलाई पुनःपरिभाषित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने सन्देश दिएका छन्।
गणेशमान सिंहको २९औँ स्मृति दिवस शुक्रबार विभिन्न कार्यक्रमसहित मनाइँदैछ। सिंह २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डरका रूपमा स्मरण गरिन्छन् र २०५४ साल असोज २ गते उनको निधन भएको थियो।










प्रतिक्रिया