नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औँ महाधिवेशनको प्रक्रिया स्थगित गरी पार्टीका शीर्ष नेतासँग तत्काल वार्ता र संवाद सुरु गर्न आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले पार्टीभित्रको एकता अझै सम्भव रहेको बताएका हुन्।
खड्काले सभापति थापाले पछिल्लो समय गरेको निर्णयलाई आधार बनाएर पार्टीभित्र संवादको वातावरण बनाउनुपर्ने बताएका छन्। उनले वैशाख २१ गते आफूहरूबीच भएको संवादपछि नै निर्णय भएको भए जेठको पहिलो सातासम्म कांग्रेस एकताबद्ध भएर अघि बढ्ने अवस्था बन्न सक्ने दाबी गरेका छन्।
उनले देशभर तथा विदेशमा रहेका कांग्रेसका नेता, सदस्य र शुभेच्छुकमा पार्टी एकताले उत्साह र ऊर्जा सिर्जना गर्ने अवस्था रहेको उल्लेख गर्दै सभापति थापालाई आफ्नो निर्णयबारे गम्भीर आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।
खड्काले असोज ३ गतेदेखि सुरु गर्ने घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गर्नुपर्ने बताएका छन्। महाधिवेशनको प्रक्रिया अघि बढिरहेकै अवस्थामा पार्टीभित्र दुई धारको अधिवेशन हुने अवस्था सिर्जना भए त्यसले कांग्रेसको आन्तरिक एकतामा थप समस्या ल्याउन सक्ने उनको भनाइ छ।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति तथा शीर्षनेता शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग सभापति थापाले आफ्नै अग्रसरतामा तत्काल वार्ता सुरु गर्नुपर्ने बताएका छन्। पार्टीभित्रको विवाद संवादमार्फत समाधान गर्न सकिने र अझै पनि सम्पूर्ण एकता कायम गर्न सकिनेमा आफू विश्वस्त रहेको खड्काले उल्लेख गरेका छन्।
खड्काले महाधिवेशनको प्रक्रिया अलग–अलग रूपमा अघि बढे कांग्रेस विभाजनको अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन्। दुई अलग अधिवेशन रोक्न नसके पार्टी विभाजनको सम्भावना बलियो हुने उनको दाबी छ।
कांग्रेसभित्र पछिल्लो समय महाधिवेशनको तयारी, नेतृत्व र पार्टीको आन्तरिक संरचनालाई लिएर विवाद देखिँदै आएको अवस्थामा खड्काको पछिल्लो धारणा आएको हो। उनले विवाद समाधानका लागि महाधिवेशनभन्दा अघि शीर्ष नेतृत्वबीच संवाद र सहमतिको प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।










प्रतिक्रिया