शंकर पोखरेलको आरोप– सरकारको ‘अहंकार’ले बाढीमा मानवीय क्षति बढ्यो

धनुषा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संघीय सरकारको अहंकार र उद्धार कार्यमा विज्ञहरूको समयमै सहयोग लिन नसक्दा भोटेकोशी बाढीबाट भएको मानवीय क्षति अझ बढेको आरोप लगाएका छन्।

मंगलबार धनुषाको लालगढमा नेकपा एमाले मधेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले विपद्को समयमा सरकार सबै प्रकारका विज्ञता, प्रविधि र अनुभवलाई तत्काल परिचालन गर्नुपर्नेमा त्यसो नगरेको दाबी गरे। उनका अनुसार बाढी आएको समयमा सुरुङभित्र मानिसहरू फसेको जानकारी पाएलगत्तै देश तथा विदेशका सुरुङ उद्धार विज्ञलाई काम गर्ने अनुमति दिइएको भए थप मानिसलाई जीवितै उद्धार गर्न सकिने अवस्था थियो।

‘बाढीमा यो सरकारको अहंकारले मानवीय क्षति बढाएको छ,’ पोखरेलले भने, ‘बाढी आएकै दिन सुरुङ पस्ने अनुमति देश–विदेशका विज्ञले पाएका भए धेरैजना बाढीमा फसेकाहरूको जिउँदै उद्धार गर्न सकिन्थ्यो।’

भोटेकोशी बाढीपछि रसुवा, नुवाकोटलगायतका क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङमा ठूलो संख्यामा मानिस फसेको आशंका गरिएको थियो। सुरुङभित्र पानी, हिलो, माटो तथा ढुंगासहितको लेदो थुप्रिँदा उद्धारमा गम्भीर चुनौती देखिएको थियो। प्रारम्भिक दिनमा उद्धार टोलीलाई सुरुङसम्म पुग्नै कठिन भएको थियो। तर विपद्को १०औँ र ११औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ तथा अन्य संरचनाबाट चार जनालाई जीवितै उद्धार गरिएपछि सुरुङभित्र अझै जीवित व्यक्ति हुन सक्ने आशा बलियो बनेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार