जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सरकारले लुकाएको प्रचण्डको आरोप

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सरकारले सार्वजनिक नगरेर लुकाएको आरोप लगाएका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारमा रहेका जिम्मेवार व्यक्तिले नै छानबिन प्रतिवेदन लुकाएर घटनाको वास्तविकता बाहिर आउन नदिएको दाबी गरे।

जेनजी आन्दोलनमा सहभागी युवाहरूको भावना र उद्देश्यलाई अन्य घटनासँग जोडेर हेर्न नहुने धारणा राख्दै उनले आन्दोलनलाई बदनाम गर्ने उद्देश्यले घुसपैठ भएको दाबीसमेत गरे। जेनजी पुस्ताले उठाएका माग र आन्दोलनको मूल भावना अलग ढंगले बुझ्नुपर्ने उनको भनाइ थियो।

प्रचण्डले भदौ २३ गते भएको घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताए। त्यसैगरी भदौ २४ गते भएका आगजनी, तोडफोड तथा अन्य विध्वंसात्मक गतिविधिको पनि सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए।

आन्दोलनका क्रममा भएका विध्वंसात्मक घटनाको पछाडि को–को संलग्न थिए भन्ने विषय छानबिनबाट स्पष्ट हुनुपर्ने प्रचण्डले बताए। घटनाको वास्तविकता सार्वजनिक गर्न छानबिनबाट प्राप्त तथ्य र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।

उनले आन्दोलनका क्रममा भएका सबै घटनालाई एउटै दृष्टिकोणबाट हेर्नुभन्दा घटनाको प्रकृति, उद्देश्य र संलग्न पक्षको निष्पक्ष अध्ययन आवश्यक रहेको धारणा राखे। घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन र प्रतिवेदनको सार्वजनिकता अनिवार्य रहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार