काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ। वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।
महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, संगठनात्मक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम र अभियानलगायत विषयमा छलफल हुनेछ।
बैठकमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका विषयमा छलफल हुने कार्यसूची रहेको छ। स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउने विषयलाई पार्टीले प्राथमिकतामा राखेको छ।
यस्तै, संगठनात्मक व्यवस्थापनअन्तर्गत केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभिन्न विभागका प्रमुख मनोनयनबारे पनि बैठकमा छलफल हुने बताइएको छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा त्यसका सदस्य मनोनयनको विषयसमेत बैठकको कार्यसूचीमा समेटिएको छ।
बैठकले पार्टीका आगामी योजना, कार्यक्रम तथा अभियानबारे समेत आवश्यक निर्णय लिनेछ। केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।
त्यसैगरी रास्वपाले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयलाई समेत बैठकमा छलफलका लागि प्रस्तुत गर्ने भएको छ। उक्त पत्रिकामार्फत पार्टीका गतिविधि, विचार तथा कार्यक्रमलाई व्यवस्थित रूपमा सार्वजनिक गर्ने तयारी गरिएको छ।
आजको बैठकलाई आगामी स्थानीय निर्वाचनको तयारी, संगठनात्मक संरचना र पार्टीका नीति तथा कार्यक्रमलाई थप व्यवस्थित बनाउने दृष्टिले महत्वपूर्ण मानिएको छ।












प्रतिक्रिया