अमेरिका र इरानबीच जारी कूटनीतिक वार्ता हर्मुज जलमार्गको व्यवस्थापन र जहाज आवतजावतसम्बन्धी विवादका कारण निर्णायक मोडमा पुग्न सकेको छैन। दुवै देशबीच आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा, रोक्का सम्पत्ति र अर्बौं डलरको सम्भावित लगानीजस्ता महत्वपूर्ण विषयमा छलफल भए पनि हर्मुज जलमार्ग नै सबैभन्दा ठूलो अवरोध बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
कतारको दोहामा बुधबार भएको पछिल्लो वार्ता प्रत्यक्ष नभई कतार र पाकिस्तानका अधिकारीहरूको मध्यस्थतामा सम्पन्न भएको अमेरिकी अनलाइन एक्सियसले उल्लेख गरेको छ। वार्तामा सहभागी स्रोतहरूका अनुसार हर्मुज जलमार्गको भविष्यबारे दुवै पक्षबीच अझै सहमति जुट्न सकेको छैन।
इरानले ओमानसँग संयुक्त रूपमा हर्मुज जलमार्गको प्रशासन सञ्चालन गर्न तथा त्यहाँबाट आवतजावत गर्ने जहाजबाट मार्ग शुल्क उठाउने प्रस्ताव अघि सारेको छ। अमेरिकाले भने हर्मुज अन्तर्राष्ट्रिय जलमार्ग भएकाले त्यहाँ कुनै अवरोध वा अतिरिक्त शुल्क स्वीकार्य नहुने अडान दोहोर्याएको छ।
अमेरिकी पक्षले प्रतिबन्ध हटेपछि इरानले तेल तथा अन्य प्राकृतिक स्रोतको स्वतन्त्र निर्यातबाट प्राप्त गर्ने आम्दानी हर्मुजमा शुल्क उठाएर हुने आम्दानीभन्दा धेरै गुणा बढी हुने तर्क राख्दै तेहरानलाई दीर्घकालीन आर्थिक अवसरतर्फ ध्यान दिन आग्रह गरेको छ।
एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एक्सियसले लेखेको छ, “प्रतिबन्ध हटेपछि इरानले प्राप्त गर्ने आर्थिक अवसर जहाजबाट शुल्क उठाउने रणनीतिभन्दा धेरै लाभदायक हुनेछ।”
यद्यपि, दुई साताअघि भएको प्रारम्भिक समझदारी (एमओयू) कार्यान्वयनका विषयमा अझै मतभेद कायम रहेको स्रोतहरूले बताएका छन्। यसले अन्तिम आणविक सम्झौताभन्दा पहिले नै प्रारम्भिक सहमति विफल हुने जोखिम बढाएको विश्लेषण गरिएको छ।
यसैबीच, अमेरिकी पक्षका अनुसार गत आइतबार दुवै देशबीच हर्मुज क्षेत्रमा एक सातासम्म तनाव नबढाउने सहमति भएको छ। सो अवधिमा कुनै पनि मिसाइल आक्रमण नगरी शान्त वातावरणमा एमओयूका सबै पक्षमा काम अघि बढाउने समझदारी भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। उनीहरूले इरानले पुनः आक्रमण गरे अमेरिका अझ कडा जवाफ दिन तयार रहने चेतावनी पनि दिएका छन्।
इरानी उपविदेशमन्त्री काजेम घरिबाबादीले भने अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता नभएको स्पष्ट पारे। उनका अनुसार सबै छलफल कतार र पाकिस्तानका मध्यस्थकर्तामार्फत भएको हो।
घरिबाबादीले एमओयू उल्लंघनसम्बन्धी विषय तत्काल समाधान गर्न आपत्कालीन सञ्चार संयन्त्र स्थापना गर्ने सहमति भएको जानकारी दिए। साथै कतारमा रोक्का रहेको इरानको सम्पत्तिबाट मानवीय सहायता सामग्री खरिद गरी इरान पठाउने विषयमा पनि छलफल भएको उनले बताए।
तर करिब ३ अर्ब अमेरिकी डलर बराबरको रोक्का सम्पत्ति प्रयोग गर्ने विषयमा अझै स्पष्ट सहमति हुन सकेको छैन। क्षेत्रीय स्रोतहरूले मानवीय प्रयोजनका लागि रकम प्रयोग गर्ने समझदारी बनेको बताएका छन् भने अमेरिकी अधिकारीहरूले कुनै पनि रकम मुक्त नगरिएको दाबी गरेका छन्।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। उनका अनुसार अमेरिकी प्राविधिक टोलीले इरानी, कतारी तथा अन्य पक्षसँग निरन्तर छलफल गरिरहेको छ र प्रारम्भिक चरणमै भए पनि संवाद रचनात्मक रहेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको पछिल्लो बैठक निकै सकारात्मक भएको र आणविक निःशस्त्रीकरणको प्रक्रिया सही दिशामा अघि बढिरहेको दाबी गरेका छन्। यद्यपि वार्तासँग परिचित स्रोतहरूका अनुसार यस चरणको प्राविधिक छलफलमा इरानको आणविक कार्यक्रमबारे विस्तृत र ठोस छलफल भने भएको थिएन। भान्सले पनि उक्त विषय आगामी चरणमा मात्रै औपचारिक रूपमा उठाइने बताएका छन्।
वार्ताका क्रममा अमेरिकी विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ जारेड कुशनरले कतारका प्रधानमन्त्री तथा अमिरसँग पनि भेटवार्ता गरेका थिए।
विश्वको करिब २० प्रतिशत तेल तथा ठूलो परिमाणमा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) हर्मुज जलमार्गबाट ओसारपसार हुने भएकाले यसको रणनीतिक तथा आर्थिक महत्व अत्यन्त संवेदनशील मानिन्छ। यही कारण हर्मुजको व्यवस्थापन अहिले अमेरिका–इरान वार्ताको सबैभन्दा जटिल र विवादास्पद विषय बनेको छ।
इरानले ओमानसँग संयुक्त रूपमा जलडमरूमध्यको प्रशासन सञ्चालन गर्दै ६० दिनको अन्तरिम अवधिपछि जहाजबाट मार्ग शुल्क उठाउने प्रस्ताव राखेको छ। तर अमेरिकाको भनाइमा हर्मुज अन्तर्राष्ट्रिय समुद्री मार्ग भएकाले त्यससम्बन्धी कुनै पनि नयाँ व्यवस्था खाडी क्षेत्रका अन्य सम्बन्धित मुलुकहरूको सहमतिबिना लागू हुन सक्दैन।
यसैबीच, कतारको विदेश मन्त्रालयले वार्ताको अर्को चरण इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको जुलाई ९ मा हुने अन्त्येष्टिपछि आयोजना गरिने जनाएको छ।
सामाजिक सञ्जाल एक्समार्फत जारी वक्तव्यमा मन्त्रालयले अन्तरिम समझदारी कार्यान्वयनका विषयमा उल्लेखनीय प्रगति भएको र दुवै पक्षले संवादलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको जनाएको छ।









प्रतिक्रिया