काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयसँग भएको सहमतिपछि वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीमाथि भएका कारबाहीका विषयमा वैदेशिक रोजगार विभागसँग छलफल गरेको छ। छलफलपछि पछिल्लो चरणमा कारबाहीमा परेका म्यानपावर कम्पनीलाई पुनरावलोकनका लागि आवेदन दिन बाटो खुलेको छ।
स्वदेशी विमानस्थल प्रयोग नगरी भारतीय विमानस्थल हुँदै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै विभागले विभिन्न चरणमा म्यानपावर कम्पनीमाथि कारबाही गरेको थियो। विभागले पहिलो चरणमा ५९८, दोस्रो चरणमा ३९ र पछिल्लो चरणमा १२४ वटा म्यानपावर कम्पनीलाई सचेत गराउनेदेखि ५० हजार रुपैयाँसम्म जरिबाना गरेको थियो।
यही विषयमा संघका पदाधिकारीले मंगलबार विभागका महानिर्देशकसहितका अधिकारीसँग छलफल गरेका हुन्। छलफलमा भारतीय विमानस्थलमार्फत श्रमिक पठाउँदा गरिएको कारबाहीसँगै वैदेशिक रोजगारसम्बन्धी दैनिक कामकारबाहीमा हुने ढिलासुस्ती तथा व्यवसायीले भोग्दै आएका विभिन्न प्रशासनिक समस्याबारे समेत छलफल भएको संघले जनाएको छ।
यसअघि भदौ १ गते युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मन्त्रालयका सचिव डा. दीपक काफ्लेसहितको टोलीसँग व्यवसायीले छलफल गरेका थिए। उक्त छलफलमा व्यवसायीका माग तथा समस्यालाई सम्बोधन गर्न दुई महिनाको समयसीमा तोकिएको थियो। सोही सहमतिअनुसार विभागसँग म्यानपावर कम्पनीमाथि भएका कारबाहीका विषयमा छुट्टै छलफल गरिएको संघका अध्यक्ष डिकबहादुर खत्रीले बताए।
विभागसँगको छलफलपछि पछिल्लो चरणमा कारबाहीमा परेका ३९ र १२४ वटा म्यानपावर कम्पनीलाई पुनरावलोकनका लागि आवेदन दिन भनिएको छ। सम्बन्धित व्यवसायीले आफूलाई कारबाही गर्न नपर्ने कारण र आधारसहित विभागमा पुनरावलोकनको आवेदन दिन सक्ने व्यवस्था गरिएको हो।
संघका अध्यक्ष खत्रीका अनुसार व्यवसायीहरूले पुनरावलोकनका लागि आवेदन दिनसमेत सुरु गरिसकेका छन्। विभागले कारबाहीलाई अन्तिम रूपमा कार्यान्वयनमा लैजानुअघि सम्बन्धित म्यानपावर कम्पनीलाई आफ्नो पक्ष राख्ने अवसर दिएको हो।
यस व्यवस्थापछि कारबाहीमा परेका व्यवसायीले विभागसमक्ष आफ्नो स्पष्टीकरण र प्रमाण पेस गरी निर्णय पुनरावलोकनको माग गर्न सक्नेछन्। संघले भने वैदेशिक रोजगार व्यवसाय सञ्चालनका क्रममा देखिएका व्यावहारिक समस्या तथा प्रशासनिक जटिलता समाधानका लागि विभाग र मन्त्रालयसँग थप छलफल गर्दै जाने जनाएको छ।











प्रतिक्रिया