चाबहिलका निष्ठावान् युवा विनोद दवाडी : समाजसेवा र राजनीतिमा समर्पित नाम

काठमाडौं महानगरपालिका वडा नम्बर ७, चाबहिलका स्थायी बासिन्दा विनोद दवाडी स्थानीय जनताका हरेक सुखदुःखमा निरन्तर साथ दिने एक निष्ठावान् सामाजिक तथा राजनीतिक व्यक्तित्व हुन्। आमा अम्बिकादेवी र बुबा स्वर्गीय गोविन्दप्रसाद दवाडीका तीन सन्तानमध्येका माइला छोरा विनोदको सिंगो परिवार नै सुरुदेखि नै प्रजातान्त्रिक विचार र नेपाली कांग्रेसको निष्ठावान् राजनीतिमा समर्पित रहँदै आएको छ।

चाबहिल र कपनका स्थानीय विद्यालयहरूबाट विद्यालय तहको शिक्षा पूरा गरेका दवाडीले चाबहिलकै प्रसिद्ध पशुपति बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका हुन्। २०४६ सालको ऐतिहासिक जनआन्दोलनसँगै नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएर राजनीतिमा औपचारिक पाइला चालेका उनले कांग्रेसको वडा इकाइ सचिव हुँदै संगठन विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याइसकेका छन्।

बिहान उठेदेखि बेलुकीसम्म वडावासीको सेवा र विकास निर्माणका काममा अहोरात्र खट्ने दवाडीले चाबहिल र वरपरका क्षेत्रमा थुप्रै सामाजिक संस्थाहरूको कुशल नेतृत्व सम्हालिसकेका छन्। उनी हाल मित्रपार्क खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र गणेशधारा टोल सुधार समितिको अध्यक्षका रूपमा कार्यरत छन्।

त्यसैगरी नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को जयनेपाल सेवा समितिका संयोजक, प्रहरी बिट गंगाहिटी, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालका बोर्ड सदस्य, चाबहिल स्पोट्र्स क्लबका सचिव, सामुदायिक प्रहरीका संस्थापक सदस्य एवं हाल सल्लाहकार, चुच्चेपाटी टोल सुधार समितिका सल्लाहकार तथा गणेशस्थान मन्दिरका पदेन सदस्यका रूपमा उनको सक्रिय उपस्थिति रहँदै आएको छ।

विशेष गरी पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रमा आयोजना हुने महाशिवरात्रि, साउने सोमबारजस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरूमा निःशुल्क खानेपानी वितरणदेखि सरसफाइ र व्यवस्थापनका हरेक सामाजिक काममा उनी सधैँ अघि सर्छन्। चाबहिलका स्थानीय युवा व्यवसायी राजेश घटानीका अनुसार दवाडी केवल एक राजनीतिक नेता मात्र नभई समस्या पर्दा सधैँ अघि सरेर सहयोग गर्ने भरपर्दो अभिभावक हुन्।

लामो समयदेखिको सामाजिक पकड र जनतासँगको प्रत्यक्ष सम्बन्धका कारण आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं। ७ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट उनी प्रबल उम्मेद्वारका रूपमा हेरिएका छन्। आफ्नो उम्मेदवारी र जितको सम्भावनाबारे स्पष्ट पार्दै दवाडी भन्छन्, “यदि पार्टीले विश्वास गरेर मलाई टिकट दिएको खण्डमा स्थानीय जनताको अपार माया र समर्थनका साथ राम्रो मत ल्याएर विजयी बन्न मलाई कसैले रोक्ने छैन।”

प्रतिक्रिया

सम्बन्धित समाचार