जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा नवनिर्मित अत्याधुनिक कार्यालय भवन, ब्यारेक तथा मेस लगायतका भौतिक संरचनाहरूको बुधबार औपचारिक उद्घाटन गरिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले एक विशेष समारोहका बिच नवनिर्मित भवनको उद्घाटन गर्दै अवलोकन गर्नुभएको हो।
भवन उद्घाटनपश्चात् आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित संरचना केवल इँटा र सिमेन्टको भौतिक निर्माण मात्र नभई प्रहरीप्रति आम नागरिकको जीवन्त भरोसा र अपेक्षाको प्रतीक भएको बताउनुभयो।
उहाँले भन्नुभयो, प्रहरीको हरेक कार्य नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित हुनुपर्छ। शून्य सहनशीलताको नीतिलाई अक्षरसः पालन गर्दै सीमान्तकृत र पीडित वर्गको सारथी बनेर उनीहरूका समस्या तथा गुनासोलाई द्रुत गतिमा सम्बोधन गर्न म सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिन्छु।
कार्यक्रममा आईजीपी कार्कीले भवन निर्माण कार्यमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न महानुभावहरूलाई कदरस्वरूप प्रशंसापत्र प्रदान गर्नुभयो।
प्राविधिक प्रहरी नायव उपरीक्षक ई। चिरञ्जीवी प्रताप महतोले प्रस्तुत गर्नुभएको निर्माण प्रतिवेदन अनुसार उक्त अत्याधुनिक भवन कुल ९ करोड ७१ लाख ९३ हजार ५ सय १८ रुपैयाँको लागतमा सम्पन्न भएको हो।
समारोहमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले स्वागत मन्तव्य राख्नुभएको थियो भने गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।
भव्य रूपमा सम्पन्न उक्त उद्घाटन समारोहमा जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ(संस्थाका प्रमुख, स्थानीय समाजसेवी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।






प्रतिक्रिया