रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावितहरूको उद्धार, उपचार र राहत वितरणमा नेपाली सेना पूर्ण रूपमा जुटिरहेको छ। भाद्र ११ गते साँझसम्म सेनाले १०१ जना विदेशी नागरिकसहित कुल ८९६ जनाको उद्धार गरेको छ।
हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुवेशी, धुन्चे र मैलुङ क्षेत्रबाट ६९६ जनाको हवाई उद्धार गरिएको छ भने अन्य २०० जनालाई जमिनी मार्गबाट सुरक्षित स्थानमा सारिएको छ। यस्तै, त्रिशूली र धुन्चेमा खटिएका सैनिक मेडिकल टोलीले हालसम्म ९०० जना बाढी प्रभावितहरूलाई आपत्कालीन स्वास्थ्य सेवा प्रदान गरिसकेका छन्।
उद्धार कार्यलाई तीव्र र प्रभावकारी बनाउन सेनाले ड्रोन र तालिमप्राप्त डग (Dog) को प्रयोग गरिरहेको छ। रसुवा र नुवाकोटमा ४ हजार २ सयभन्दा बढी तथा नुवाकोटदेखि चितवनसम्म थप १२ सय सैनिक फौज खोजी, उद्धार, राहत वितरण र पृथ्वी राजमार्गको लेदो हटाइ सडक खुलाउन खटिएका छन्।
भोलि भाद्र १२ गते नदी किनारमा शव खोजी, टनेलहरूमा सम्पर्कविहीन भएकाहरूको उद्धार, आपत्कालीन उपचारको निरन्तरता र त्रिशूली-धुन्चे सडक सुचारु गर्ने गरी सेनाले कार्ययोजना बनाएको छ।






प्रतिक्रिया