काठमाडौं । रसुवाको टिमुरेमा चीनको तिब्बती भू–भागबाट आएको बाढीका कारण मालवाहक सवारीसाधन, यातायात व्यवसायी तथा मजदुर प्रभावित भएको नेपाल ट्रक यातायात व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बाढीले टिमुरे भन्सार यार्डमा पार्किङ गरिएका मालवाहक सवारीसाधन बगाएको छ। त्यसैगरी बेत्रावती क्षेत्रमा पार्किङ गरी राखिएका मालवाहक सवारीसाधनमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको महासंघले जनाएको छ।
बाढीका कारण महासंघअन्तर्गतका सदस्य संस्थामा आबद्ध केही यातायात व्यवसायी तथा मजदुरसमेत सम्पर्कविहीन रहेको महासंघले जनाएको छ। सम्पर्कविहीन भएका व्यक्तिहरूको अवस्थाबारे जानकारी लिन सम्बन्धित संस्थासँग सम्पर्कमा रहन तथा सम्भावित जोखिमबाट बच्न सुरक्षा निकायको सम्पर्कमा जान महासंघले आग्रह गरेको छ।
बाढीको जोखिम अझै कायम रहेकाले नदी किनार तथा आसपासका क्षेत्रमा रहेका यातायात व्यवसायी, मजदुर र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन महासंघले अनुरोध गरेको छ। सुरक्षा निकायले जारी गरेका सूचना तथा निर्देशनको पूर्ण रूपमा पालना गर्नसमेत महासंघले आग्रह गरेको छ।
महासंघले विपद्को यस कठिन परिस्थितिमा सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ। उद्धार, राहत तथा जोखिम न्यूनीकरणका कार्यमा आ–आफ्नो स्थानबाट सहयोग गर्नसमेत महासंघले सबैमा अपिल गरेको छ।
रसुवा हुँदै चीनतर्फको व्यापारिक आवतजावतमा प्रयोग हुने प्रमुख नाका क्षेत्रमा बाढीका कारण मालवाहक सवारीसाधन तथा व्यवसायी प्रभावित भएपछि यातायात क्षेत्रसमेत प्रत्यक्ष असरमा परेको छ। महासंघले बाढीको अवस्था सामान्य नभएसम्म जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।






प्रतिक्रिया