रसुवामा भीषण बाढीले ८ जलविद्युत् आयोजनामा क्षति, ५७८ मेगावाट उत्पादन प्रभावित

रसुवा जिल्लामा आएको भीषण बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी ८ वटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीबाट प्रभावित आयोजनाहरूको कुल क्षमता ५७८ मेगावाट रहेको छ।

प्रारम्भिक विवरणअनुसार बाढीबाट ४ वटा सञ्चालनमा रहेका जलविद्युत् आयोजना र ४ वटा निर्माणाधीन आयोजना प्रभावित भएका छन्। सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता २३६ मेगावाट तथा निर्माणाधीन आयोजनाको क्षमता ३४२ मेगावाट रहेको इप्पान अध्यक्ष मोहनकुमार डाँगीले बताउनु भयो ।

बाढीबाट प्रभावित आयोजनाहरूमा निजी क्षेत्रका साथै नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित आयोजना पनि रहेका छन्। बाढीका कारण विद्युत् उत्पादन, निर्माणाधीन संरचना तथा आयोजनासम्म पुग्ने पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।

रसुवामा बाढीबाट प्रभावित आयोजनामध्ये माथिल्लो त्रिशूली–१ २१६ मेगावाट क्षमताको निर्माणाधीन आयोजना हो। त्यस्तै रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट क्षमताको सञ्चालनमा रहेको आयोजना हो।

यसैगरी रसुवा–भोटेकोशी १२० मेगावाट क्षमताको निर्माणाधीन आयोजना रहेको छ। माथिल्लो मेलुङ–ए ६.४२ मेगावाट क्षमताको निर्माणाधीन आयोजना पनि बाढीबाट प्रभावित भएको छ। साञ्जेन खोला ७८ मेगावाट क्षमताको आयोजना हो भने लाङटाङ खोला २० मेगावाट क्षमताको आयोजना सञ्चालनमा रहेको छ। त्यस्तै चिलिमे २२ मेगावाट र मेलुङ खोला ५ मेगावाट क्षमताका सञ्चालनमा रहेका आयोजना पनि प्रभावित भएका छन्।

प्रारम्भिक विवरणअनुसार सञ्चालनमा रहेका चार आयोजनाको कुल क्षमता २३६ मेगावाट र निर्माणाधीन तीन आयोजनाको कुल क्षमता ३४२ मेगावाट उल्लेख गरिएको छ। आयोजनाहरूमा भएको वास्तविक भौतिक क्षति तथा विद्युत् उत्पादनमा परेको प्रभावको विस्तृत विवरण स्थलगत अध्ययनपछि मात्रै यकिन हुने बताइएको छ।

रसुवामा आएको बाढीले जलविद्युत् आयोजनासँगै सडक, पुल, प्रसारण संरचना तथा अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। विपद्का कारण प्रभावित आयोजनाको अवस्था मूल्याङ्कन तथा आवश्यक पुनःस्थापनाका लागि सम्बन्धित निकायले विवरण संकलन गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार