काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको १८औँ नाडा अटो शो २०२६को पहिलो दिनमै ३० हजारभन्दा बढी अवलोकनकर्ता प्रदर्शनीस्थल पुगेका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार पहिलो दिन नयाँ मोडलका कार, विद्युतीय सवारीसाधन, मोटरसाइकल, स्कुटर तथा बसप्रति अवलोकनकर्ताको उल्लेख्य चासो देखिएको छ।
विशेषगरी विद्युतीय सवारीसाधनको रेन्ज, मूल्य, पावर, चार्जिङ समय र वारेन्टीबारे ग्राहकले कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष जानकारी लिएका छन्। नयाँ सवारीसाधनका अतिरिक्त प्रदर्शनीमा राखिएका रोबोट तथा नेपालमै डिजाइन र निर्माण गरिएको विद्युतीय स्कुटरले समेत अवलोकनकर्ताको ध्यान खिचेको नाडाले जनाएको छ।
यस वर्षको अटो शोमा कम्पनीहरूले सामान्य पारिवारिक प्रयोजनका तुलनात्मक रूपमा सस्ता सवारीदेखि २ करोड ३० लाख रुपैयाँसम्म मूल्य पर्ने विलासी गाडीसमेत प्रदर्शनमा राखेका छन्। फरक मूल्य समूहका सवारीबीच प्रविधि, रेन्ज, पावर, चार्जिङ समय र वारेन्टीका आधारमा प्रतिस्पर्धा देखिएको छ।
आयातित ब्रान्डको बाक्लो उपस्थितिबीच नेपालमै डिजाइन तथा निर्माण गरिएको यात्री पी–२ विद्युतीय स्कुटर पनि प्रदर्शनीको आकर्षण बनेको छ। तीन भेरियन्टमा उपलब्ध पी–२ को उपस्थितिले नेपालमा विद्युतीय सवारीसाधनको स्वदेशी उत्पादनको सम्भावनालाई समेत थप चर्चामा ल्याएको छ।
अटो शोमा विभिन्न कम्पनीले नयाँ मोडलका विद्युतीय तथा पेट्रोल सवारी सार्वजनिक गरेका छन्। एमएडब्लू वृद्धि मोटर्सले डोङफेङका प्रिमियम विद्युतीय सेडान ईपाइ ००७, एसयूभी एमहिरो १ तथा अवतार ०७ सार्वजनिक गरेको छ। त्यसैगरी सिप्रदी ट्रेडिङले टाटा सिएरा ईभी, एसपीजी अटोमोबाइल्सले जेको जे–५ प्रो र एलआरआर मोटर्सले विभिन्न ब्याट्री तथा मूल्य विकल्पमा स्काईवेल बीई ११ सार्वजनिक गरेको छ। सीजी मोटर्सले हिरो एक्स्ट्रीम २५० आरको बिक्रीसमेत सुरु गरेको छ।
नाडाका अनुसार यस वर्षको अटो शोमा २०० भन्दा बढी स्टल र ५३ वटा सवारीसाधन ब्रान्ड सहभागी छन्। सवारीसाधनसँगै अटोमोबाइल क्षेत्रसँग सम्बन्धित प्रविधि, उपकरण, पार्टपुर्जा तथा विभिन्न सेवा पनि प्रदर्शनीमा राखिएका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेको अटो शोमा बुधबारदेखि अटोमोबाइल क्षेत्रसँग सम्बन्धित ज्ञान आदानप्रदान तथा ‘नलेज सेयरिङ’ कार्यक्रमसमेत सञ्चालन हुने नाडाले जनाएको छ।
नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा **‘गोल्डेन जुबिली संस्करण’**का रूपमा आयोजना गरिएको यस वर्षको अटो शोले नयाँ सवारीसाधन सार्वजनिक गर्ने मात्र नभई विद्युतीय सवारी, स्वदेशी उत्पादन, अटो प्रविधि तथा भविष्यको मोबिलिटीबारे समेत बहस र संवादको थलोका रूपमा आफूलाई प्रस्तुत गरेको छ






प्रतिक्रिया