काठमाडौं । नेपालले पछिल्ला पाँच आर्थिक वर्षमा करिब ४ खर्ब ७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी सामग्री आयात गरेको छ। यसबाट सरकारले करिब ३ खर्ब ५१ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले जनाएको छ।
नाडाका अनुसार अटोमोबाइल क्षेत्रबाट पछिल्लो एक आर्थिक वर्षमा मात्रै राज्यले ७५ अर्ब रुपैयाँभन्दा बढी राजस्व प्राप्त गरेको छ। सवारीसाधनको आयातसँगै यससँग जोडिएको वित्त, बीमा, सर्भिसिङ, पार्टपुर्जा तथा अन्य सेवा क्षेत्रको विस्तारले अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको नाडाको दाबी छ।
नाडाले आफ्नो ५०औँ स्थापना वर्षको अवसरमा सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो पाँच दशकमा नेपालमा अटोमोबाइल क्षेत्रको आकार र प्रभावमा उल्लेख्य विस्तार भएको छ।
पाँच दशकमा ८०१ बाट ५५ लाख सवारीसाधन
नाडा स्थापना भएको दुई वर्षपछि अर्थात् सन् १९७७ मा नेपालमा एक वर्षमा ८०१ वटा नयाँ सवारीसाधन दर्ता भएका थिए। अहिले देशभर दर्ता भएका सवारीसाधनको संख्या करिब ५५ लाख पुगेको नाडाले जनाएको छ।
नयाँ दर्ता हुने सवारीसाधनमा मोटरसाइकलको हिस्सा सबैभन्दा ठूलो छ। नाडाका अनुसार हाल नयाँ दर्ता हुने सवारीसाधनमध्ये करिब ८४ प्रतिशत मोटरसाइकल रहेका छन्।
पाँच दशकको अवधिमा सवारीसाधनको संख्या मात्र बढेको छैन, यससँग जोडिएको सम्पूर्ण व्यावसायिक तथा सेवा संरचनासमेत विस्तार भएको नाडाको भनाइ छ। देशभर डिलर तथा सर्भिस सेन्टरको सञ्जाल, पार्टपुर्जा र आफ्टरमार्केट आपूर्ति शृंखला, दक्ष मेकानिक तथा सर्भिस टेक्निसियन, अटो फाइनान्स र सवारी बीमालगायतका क्षेत्रको विकासमा अटोमोबाइल उद्योगले भूमिका खेलेको छ।
आयातबाट उत्पादनतर्फ अघि बढ्दै
नेपालको अटोमोबाइल क्षेत्र अझै पनि ठूलो हदसम्म आयातमा निर्भर रहे पनि पछिल्ला वर्षमा स्वदेशमै सवारीसाधन तथा अटोमोबाइलसँग सम्बन्धित सामग्री उत्पादन र एसेम्बल गर्ने क्रम बढ्दै गएको नाडाले जनाएको छ।
यसैलाई मध्यनजर गर्दै नाडाले आफ्नो स्वर्ण जयन्ती संस्करणको नाडा अटो शोमा ‘मेड इन नेपाल तथा मेड फर नेपाल’ प्याभिलियन स्थापना गरेको छ। उक्त प्याभिलियनमा नेपालमै उत्पादन तथा एसेम्बल गरिएका विभिन्न सवारीसाधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिनेछ।
नाडाका अनुसार प्याभिलियनमा विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट, हेल्मेटलगायतका उत्पादन प्रदर्शन हुनेछन्। करिब आठ नेपाली उत्पादकले यसमा सहभागिता जनाउने अपेक्षा गरिएको छ।
नेपाल अटोमोबाइल उत्पादनमा पूर्ण आत्मनिर्भर नभइसके पनि स्वदेशमै उत्पादन तथा एसेम्बलको सुरुवात हुनु आयातमुखी बजारबाट क्रमशः उत्पादनतर्फ अघि बढिरहेको संकेत भएको नाडाको भनाइ छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपाल अब सवारीसाधन आयात गर्ने मुलुकका रूपमा मात्र सीमित नरहेको बताए। “नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित छैन, हामी स्वदेशी उद्योगतर्फ बढिरहेका छौँ।”
नीति निर्माणमा पनि अटो क्षेत्रको प्रभाव
अटोमोबाइल क्षेत्रको विस्तारसँगै सवारीसाधनबाट हुने उत्सर्जन, सडक तथा सवारी सुरक्षा, कर संरचना र वातावरणीय नीतिलगायतका विषयमा सरकारसँग निरन्तर संवाद गर्दै आएको नाडाले जनाएको छ।
नाडाका अनुसार अटोमोबाइल क्षेत्रसँग सम्बन्धित डिलर, सर्भिस, पार्टपुर्जा, वित्तीय सेवा, बीमा र दक्ष जनशक्तिको संरचना निर्माण हुन दशकौँ लागेको छ। यसले अटोमोबाइललाई केवल सवारीसाधन आयात तथा बिक्रीको क्षेत्र नभई ठूलो व्यावसायिक इकोसिस्टमका रूपमा विकास गरेको छ।
ब्रान्डसँगै बनेको दीर्घकालीन सम्बन्ध
नेपालमा अटोमोबाइल बजार विस्तारसँगै विभिन्न अन्तर्राष्ट्रिय ब्रान्ड पनि नेपाली उपभोक्ताको जीवनशैलीको हिस्सा बनेका छन्। सुजुकी, टाटालगायतका ब्रान्ड दशकौँदेखि नेपाली बजारमा स्थापित छन्।
नाडाका अनुसार कतिपय अवस्थामा एउटै परिवारका तीन पुस्तासम्मले एउटै डिलरबाट सवारीसाधन खरिद गरेका उदाहरण छन्। यसले नेपालमा अटोमोबाइल बजारको विस्तारसँगै डिलर, ब्रान्ड र उपभोक्ताबीच बनेको दीर्घकालीन सम्बन्धलाई समेत प्रतिबिम्बित गर्छ।
पाँच दशकको यात्रामा आयात र राजस्वमा ठूलो योगदान दिँदै आएको नेपाली अटोमोबाइल क्षेत्र अब स्वदेशी उत्पादन, एसेम्बल र प्रविधितर्फ समेत अघि बढ्ने चरणमा प्रवेश गरेको नाडाको निष्कर्ष छ। स्वदेशी उत्पादनको आधार विस्तार गर्न सके आगामी दिनमा अटोमोबाइल क्षेत्रले राजस्व मात्र नभई रोजगारी, सीप विकास, प्रविधि हस्तान्तरण र औद्योगिक उत्पादनमा समेत थप योगदान पुर्याउन सक्ने देखिन्छ।











प्रतिक्रिया