कामना सेवा विकास बैंकको १५ प्रतिशत नगद लाभांश पारित

कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। भदौ ३१ गते सम्पन्न साधारणसभाले अग्राधिकार सेयरधनीका लागि समेत ९ प्रतिशत अनुपातिक लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभाले अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अग्राधिकार सेयरधनीलाई अनुपातिक रूपमा ९ प्रतिशत तथा अन्य सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण पनि पारित गरेको छ। लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित गरिएको बैंकले जनाएको छ।

त्यसैगरी, सभाले बाह्य लेखापरीक्षकका रूपमा एन.बी.एस.एम एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ।

साधारणसभामा सेयरधनीहरूले बैंकको वित्तीय अवस्था, लाभांश वितरण तथा आगामी रणनीतिसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए। ती जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए।

जवाफका क्रममा प्रमुख कार्यकारी अधिकृत थकालीले बैंकले निरन्तर दोहोरो अंकमा लाभांश वितरण गर्न सफल हुँदै आएको बताए। आगामी दिनमा बैंकलाई थप सबल, दिगो र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न व्यवस्थापन प्रतिबद्ध रहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार