चालु आवको पहिलो महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) २१.२ प्रतिशतले बढेर २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि १०.२ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड डलर पुगेको छ।

यस अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

रेमिट्यान्स आप्रवाहसँगै वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या पनि उल्लेख्य रहेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४२ हजार ६९३ रहेको छ।

त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २७ हजार ७४८ रहेको छ। नयाँ तथा पुनः श्रम स्वीकृति गरी पहिलो महिनामा कुल ७० हजार ४४१ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या र रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिले चालु आर्थिक वर्षको सुरुवातमै बाह्य क्षेत्रबाट नेपालमा भित्रिने आम्दानी बलियो रहेको देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार