युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीसँगै देशभित्रै रोजगारी सिर्जना र श्रमिकको अधिकार संरक्षणलाई समान प्राथमिकतामा राखेको बताएका छन्।
श्रम तथा रोजगार कार्यालय, जनकपुरधामले आयोजना गरेको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रममा बोल्दै मन्त्री यादवले विगतमा सरकारको रोजगारीसम्बन्धी अधिकांश ध्यान वैदेशिक रोजगारीमा केन्द्रित हुने गरेको भए पनि अब आन्तरिक र वैदेशिक रोजगारीलाई समान रूपमा अघि बढाउने नीति लिइएको बताए।
चालु आर्थिक वर्षमा रोजगारदाता र रोजगारी खोजिरहेका युवाबीच प्रत्यक्ष ‘जब म्याचिङ’ गराएर एक लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेको उनले जानकारी दिए। त्यसका लागि सरकारले १२ वटा ‘फ्ल्यागसिप’ रोजगारी कार्यक्रम सञ्चालनको तयारी गरेको मन्त्री यादवले बताए।
उनका अनुसार प्रस्तावित कार्यक्रमअन्तर्गत कृत्रिम बुद्धिमत्ता, हरित रोजगारी, कृषि, डिजिटल रोजगारी, मौसमी काम तथा घरेलु र हेरचाहसम्बन्धी रोजगारीलाई प्राथमिकतामा राखिनेछ। श्रम बजारको आवश्यकता र युवाको सीपलाई जोडेर रोजगारीका अवसर सिर्जना गर्ने गरी कार्यक्रम अघि बढाइने उनको भनाइ छ।
मन्त्री यादवले विगतमा आन्तरिक रोजगारीलाई व्यवस्थित रूपमा अघि बढाउन आवश्यक ऐन, नियम र संस्थागत संरचना पर्याप्त नभएको बताए। अहिले सरकारले आन्तरिक रोजगारी विस्तारका लागि आवश्यक नीतिगत, कानुनी तथा संस्थागत संरचना निर्माणको काम अघि बढाइरहेको उनले जानकारी दिए।
यसै क्रममा सरकारले असोजको दोस्रो साता सीप तथा रोजगार मेला आयोजना गर्ने तयारी गरेको मन्त्री यादवले बताए। मेलामा वास्तविक रोजगारदाता र रोजगारीको खोजीमा रहेका श्रमिक तथा युवाबीच प्रत्यक्ष ‘जब म्याचिङ’ गराई रोजगारीका अवसर उपलब्ध गराउने योजना रहेको उनले बताए।
सरकारले सीप, श्रम बजार र रोजगारदाताबीचको सम्बन्ध बलियो बनाउँदै युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउने नीतिलाई प्राथमिकतामा राखेको मन्त्री यादवको भनाइ छ।







प्रतिक्रिया