संविधानका उपलब्धि कमजोर पार्ने गतिविधि स्वीकार्य हुँदैन : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिकले प्राप्त गरेका अधिकार कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन्।

संविधान दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु अहिलेको मुख्य दायित्व भएको बताएका हुन्। संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन हासिल गर्न लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा प्रचण्डले लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, नागरिक अधिकार, राष्ट्रिय स्वाधीनता र जनताको मुक्तिका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै निरंकुशता, अन्याय र विभेदविरुद्ध विभिन्न कालखण्डमा संघर्ष गर्ने अग्रज तथा लोकतन्त्रका योद्धाप्रति सम्मान व्यक्त गरेका छन्।

प्रचण्डले नेपालको संविधानलाई दशकौँ लामो संघर्ष, जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलन, त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिकका मौलिक अधिकार, सामाजिक न्याय, समानुपातिक समावेशिता, संघीयता, धर्मनिरपेक्षता र स्वशासनलाई संस्थागत गरेको छ।

संविधानको ११ वर्षे यात्रामा महत्वपूर्ण उपलब्धि हासिल भए पनि संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन अझै पूरा हुन बाँकी रहेको प्रचण्डले बताएका छन्। संविधानका उपलब्धिलाई जनताको दैनिक जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन्।

देश गम्भीर राजनीतिक परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै प्रचण्डले संविधान र जनअधिकारमाथि हुने कुनै पनि प्रहार तथा अधिकार कटौती गर्ने प्रयास स्वीकार गर्न नसकिने बताएका छन्। संविधानका मूल्य र जनअधिकार कमजोर पार्ने गतिविधिका विरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्ने उनको भनाइ छ।

त्यसैगरी राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको संरक्षणलाई साझा दायित्वका रूपमा लिनुपर्ने उनले बताएका छन्। राष्ट्रिय हितको रक्षा कुनै एउटा दल वा राजनीतिक शक्तिको मात्र जिम्मेवारी नभई सबै नेपालीको साझा जिम्मेवारी भएको प्रचण्डको भनाइ छ।

राजनीतिक परिवर्तनलाई आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्नुपर्नेमा जोड दिँदै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने बताएका छन्। संविधानका प्रावधानलाई कागजमा सीमित नराखी यसको मर्म जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

संविधान दिवसका अवसरमा प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार