बाढी प्रभावित विभिन्न जिल्लाहरूमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। प्राप्त पछिल्लो विवरण अनुसार नेपाली सेनाको हवाई साधनमार्फत प्रभावित क्षेत्रहरूबाट हालसम्म कुल ४,१९५ जनाको उद्धार गरिएको छ। जसमध्ये ३,९१२ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।
जलविद्युत् आयोजनाका सुरुङ (टनेल) भित्र बेपत्ता भएकाहरूको खोजी कार्य कठिन परिस्थितिका बीच निरन्तर अघि बढिरहेको छ। माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको अडिट-३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा भेटिएका प्रारम्भिक ६ वटा शवसहित खोजीका क्रममा थप ७ गरी कुल १३ वटा शव फेला पारी टनेल बाहिर निकालिएको छ। उक्त टनेलभित्र अझै खोजी कार्य जारी राखिएको छ।
यसैगरी, त्रिशूली-३ ए (Trishuli-3A) को टनेल र पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधिहरूसँगको समन्वयमा संयुक्त टोलीले खोजी गरिरहेको छ भने त्रिशूली-३ बी (Trishuli-3B) को पावर हाउस क्षेत्रमा ३ वटा एक्साभेटर र लोडरको प्रयोग गरी उत्खनन गर्दा हालसम्म कुनै अवशेष फेला नपरे पनि खोजी निरन्तर जारी छ।
रसुवा र नुवाकोटका त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ्ग, कालिकास्थान, मान्चेत लगायतका दुर्गम इलाकाहरूमा वेश स्थापना गरी सेनाले पैदल गस्तीमार्फत खोजी गरिरहेको छ। सडक सम्पर्क विच्छेद भएका तथा पहुँचयोग्य नरहेका ठाउँहरूमा आधुनिक ड्रोन प्रविधिको प्रयोग गरी हालसम्म ३०,०२७ केजी राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी (पूर्व र पश्चिम) का प्रभावित क्षेत्रहरूमा ८,७०० भन्दा बढी सैनिक फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उद्धार टोलीले शव व्यवस्थापन, राहत वितरण, अवरुद्ध सडक तथा पुल सञ्चालनका साथै बाढीपीडित परिवारलाई धार्मिक संस्कार र भावनात्मक सहयोग समेत पुर्याउँदै आएको छ।
स्वास्थ्य सेवातर्फ नेपाली सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्तीमार्फत आज थप ६ जनाले उपचार पाएका छन्। योसँगै उक्त क्षेत्रमा स्वास्थ्य सेवा पाउनेको कुल सङ्ख्या ३,९९६ पुगेको छ।
यस्तै, बाढीका कारण भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका-३ स्थित शीतल बजारको बाटो खुलाउने काम तीव्र पारिएको छ। बेत्रावती नदीमा आवतजावत सहज बनाउन नेपाली सेना र अन्य सुरक्षा निकायको टोली अस्थायी पुल निर्माणमा जुटिरहेका छन्।










प्रतिक्रिया