एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा इम्बार्क कलेजको सहकार्य, खेलाडीलाई १८ लाखसम्म छात्रवृत्ति

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ मा इम्बार्क कलेज हायर एजुकेसन पार्टनरका रूपमा जोडिएको छ। सहकार्यअन्तर्गत एक जना राष्ट्रिय खेलाडीले स्नातक वा स्नातकोत्तर तहको अध्ययनका लागि अधिकतम १८ लाख रुपैयाँसम्मको पूर्ण छात्रवृत्ति प्राप्त गर्ने भएका छन्।

सम्झौताअनुसार छात्रवृत्तिका लागि नेपाल खेलकुद पत्रकार मञ्चले एक जना राष्ट्रिय खेलाडी छनोट गर्नेछ। छनोट भएका खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहमा अध्ययन गर्न पूर्ण छात्रवृत्ति उपलब्ध गराउनेछ।

अवार्डसँगको सहकार्यमा मात्र सीमित नरही इम्बार्क कलेजले मञ्चको एकेडेमीमार्फत सञ्चालन हुने अनुसन्धान, प्रशिक्षण तथा मेन्टरसिप कार्यक्रमलाई समेत सहयोग गर्ने भएको छ। यस सहकार्यले खेलाडीको खेलकुदसँगै शैक्षिक विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

सम्झौतापत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र इम्बार्क कलेजका तर्फबाट कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरका प्रतिनिधि निरज न्यौपानेले हस्ताक्षर गरेका थिए। कार्यक्रममा ठाकुरले खेलाडीको शैक्षिक विकास तथा नेपाली खेलकुद क्षेत्रको प्रवर्द्धनका लागि कलेजले आगामी दिनमा समेत सहकार्यलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औँ संस्करण आगामी भदौ १८ गते काठमाडौंमा आयोजना हुँदैछ। नेपाली खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने खेलाडी तथा प्रशिक्षकलाई विभिन्न विधामा सम्मान गर्ने अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट अवार्ड तथा एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्डलगायत विधा समावेश छन्।

यस वर्षको पिपुल्स च्वाइस अवार्डका लागि फुटबलकी पूजा राना, मिक्स्ड मार्सल आर्ट्सका रविन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मिना सुनार र कराँतेकी सानु माया थिङ मनोनयनमा परेका छन्। अवार्डले नेपाली खेलाडीको प्रदर्शनलाई सम्मान गर्नुका साथै खेलकुद क्षेत्रमा शिक्षा, अनुसन्धान र व्यावसायिक विकासलाई समेत जोड दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार