काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेश अध्ययनका लागि जाने तथा विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको हित, सुरक्षा र कल्याणका लागि सहकार्य गर्ने भएका छन्। एनआरएनए केन्द्रीय कार्यालय बालुवाटारमा आज भएको सहकार्यसम्बन्धि सम्झौतापत्रमा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रु) र एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले हस्ताक्षर गरेका छन् ।
दुई संस्थाबीचको सम्झौता अनुसार विदेश अध्ययनमा जानुअघि विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श तथा प्रस्थानपूर्व अभिमुखीकरण उपलब्ध गराउनेदेखि विदेश पुगेपछि आवास, रोजगारी, स्थानीय कानुन, स्वास्थ्य, सुरक्षा, मानसिक स्वास्थ्य, कल्याण तथा आपत्कालीन अवस्थासम्बन्धी आवश्यक जानकारी, सहजीकरण र सहयोग उपलब्ध गराउन एकअर्काबीच सहकार्य हुनेछ ।
‘स्वदेशमा इक्यान, विदेशमा एनआरएनए’
दुई संस्थाबीचको सहकार्यको मुख्य आधार ‘स्वदेशमा इक्यान, विदेशमा एनआरएनए’ अवधारणालाई प्रभावकारी बनाउनु रहेको छ। यसअन्तर्गत इक्यानको नेपालस्थित शैक्षिक परामर्शसम्बन्धी संस्थागत सञ्जाल र एनआरएनएको विश्वव्यापी राष्ट्रिय समन्वय परिषद् (एनसीसी) सञ्जालबीच समन्वय गरी विदेश जाने विद्यार्थीलाई आवश्यक पर्दा अभिभावकीय सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ।
विद्यार्थी विदेश जानुअघि नै गन्तव्य मुलुकको शिक्षा प्रणाली, कानुनी व्यवस्था, रोजगारीको अवस्था, बसोबास, स्वास्थ्य तथा सुरक्षालगायतका विषयमा पर्याप्त जानकारी उपलब्ध गराउने र विदेश पुगेपछि आइपर्ने व्यावहारिक समस्यामा समेत सहजीकरण गर्ने व्यवस्था विकास गरिने भएको छ।
समझदारीले शैक्षिक परामर्श क्षेत्रमा नैतिक, पारदर्शी र व्यावसायिक अभ्यास प्रवर्द्धन गर्ने विषयलाई समेत प्राथमिकता दिएको छ। विद्यार्थीका व्यक्तिगत सूचना तथा गोपनीयताको संरक्षण, सहयोग तथा आपत्कालीन सम्पर्क संयन्त्र निर्माणको सम्भाव्यता अध्ययन र संयुक्त रूपमा प्रस्थानपूर्व तथा गन्तव्य मुलुक पुगेपछिका अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने विषय पनि समझदारीमा समेटिएको छ।
विदेश पुगेपछि विद्यार्थीले भोग्ने समस्या घटाउने लक्ष्य
कार्यक्रममा एनआरएनए अध्यक्ष शर्माले विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीले नयाँ देश पुगेपछि रोजगारी, बसोबास, नयाँ वातावरणमा समायोजन, स्वास्थ्य तथा मानसिक स्वास्थ्यलगायत विभिन्न चुनौती सामना गर्नुपर्ने अवस्था रहेको बताए।
उनले यस्ता समस्या विदेश जानुअघि नै सही सूचना, प्रभावकारी अभिमुखीकरण र आवश्यक तयारीमार्फत न्यूनीकरण गर्न सकिने बताए ।
विद्यार्थीलाई गन्तव्य मुलुकको शिक्षा प्रणाली, कानुनी व्यवस्था, रोजगारी, बसोबास तथा स्वास्थ्यलगायतका व्यावहारिक विषयमा पर्याप्त जानकारी दिनुपर्नेमा जोड दिँदै शर्माले एनआरएनएको विश्वव्यापी सञ्जालमार्फत विदेशमा रहेका नेपाली विद्यार्थीलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न सकिने बताए।
इक्यानको सञ्जाल र एनआरएनएको विश्वव्यापी पहुँच जोडिने
इक्यान अध्यक्ष पौडेलले दुई संस्थाबीच भएको समझदारीलाई विद्यार्थीको हितमा सहकार्य गर्ने महत्वपूर्ण सुरुवातका रूपमा व्याख्या गरे।
उनका अनुसार विदेश अध्ययनका लागि जाने विद्यार्थीले स्वदेशमै सही सूचना, परामर्श र आवश्यक तयारी गर्ने तथा विदेश पुगेपछि आवश्यक पर्दा एनआरएनएको विश्वव्यापी सञ्जालमार्फत सहयोग प्राप्त गर्ने वातावरण निर्माण गर्न समझदारी महत्वपूर्ण हुनेछ।
विद्यार्थीलाई विदेश पठाउने प्रक्रियालाई केवल शैक्षिक परामर्श र भर्नामा सीमित नराखी उनीहरूको समग्र सुरक्षा, कल्याण र अधिकारसँग जोड्नुपर्ने आवश्यकता पछिल्लो समय बढ्दै गएको अवस्थामा दुई संस्थाबीचको सहकार्यलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
ज्ञान र सीपलाई नेपालको विकाससँग जोड्ने लक्ष्य
इक्यानका अनुसार यो सहकार्यले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा, अधिकार, सम्मान र कल्याण प्रवर्द्धन गर्नुका साथै विदेशबाट प्राप्त ज्ञान, सीप, अनुभव र पुँजीलाई नेपालको विकाससँग जोड्ने दीर्घकालीन अभियानमा समेत योगदान पुर्याउनेछ।
विदेश अध्ययनलाई केवल विद्यार्थी बाहिरिने प्रक्रियाका रूपमा नभई उनीहरूले हासिल गर्ने ज्ञान, सीप, अन्तर्राष्ट्रिय अनुभव र सञ्जाललाई भविष्यमा नेपालको आर्थिक तथा सामाजिक विकासमा उपयोग गर्ने अवसरका रूपमा विकास गर्नुपर्नेमा समेत यस सहकार्यले जोड दिएको छ।
कार्यक्रममा इक्यानका प्रथम उपाध्यक्ष बासुदेव दाहाल, द्वितीय उपाध्यक्ष विकल्पराज पोखरेल, महासचिव भवनाथ हुमागाईं, प्रथम सचिव सुरज सिलवाल, सह–कोषाध्यक्ष गोविन्द खनाल तथा कार्यसमिति सदस्य दामोदर न्यौपानेको सहभागिता थियो।
त्यसैगरी एनआरएनएका उपाध्यक्षहरू रोजिना प्रधान राई तथा दिनेश पोखरेल, महासचिव डा। चिरञ्जीवी खड्का, सचिव दिपेश खत्री, सल्लाहकार यास्मिन सइद बेगमलगायतको उपस्थिति रहेको थियो।






प्रतिक्रिया