डा. रणबहादुर चन्द
यस विपद्को घडीमा, आजको दिनमा हामीले हाम्रै दाजुभाइ दिदीबहिनीहरु माथि आएको विपत्तिको बेलामा हामी विपद्को प्रभाव बाहिरका मानिसहरू एकजुट भएर रसुवाको उत्तरी चीन सँगको सिमानाबाट सुरु गरेर नवलपरासीको भारतको सीमा सम्मको भोटेकोसी(त्रिशूलीको किनारै किनार सहयोगका लागि जुटौँ।
जब त्यहाँ हामी नेपाली युवाहरुको जनशक्ति पुग्छ, हामी हाम्रा मान्छेलाई सहयोग गर्न सक्षम हुनेछौं । अरु देशले सहयोग गर्ला भन्ने मानसिकता त्यागौं । यस प्रकारको हाम्रो अभियानलाई तबमात्र विश्व समुदायले पनि नेपालीहरूले विपदको समयमा गरेको उद्धार, राहत र पुनर्स्थापनाको नमुना कार्यको महसुस गर्नेछ। यसका लागि सबै नेपाली युवाहरु र सक्षम सबैलाई राष्ट्रिय सार्वजनिक अनुरोध छ ।
हरेक वडाबाट मात्र १५ जना, यस मातृभूमिको ढुकढुकी बोकेका युवाहरु यस (मातृभूमी युथ फोर्स) जो रसुवा– नवलपरासीसम्मको विपद्को उद्धार, राहत र पुनर्स्थापना कार्यमा खटिने छन् । नेपाल सरकारका निकायहरूसँगै नेपाली जनताको तर्फबाट सहकार्य गर्ने छन् । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, प्रशासन, स्थानीय जनता सबैलाई सजिलो पनि हुनेछ । अहिले हामीले हाम्रो समय, भौतिक ऊर्जा हाम्रै दाजुभाइ दिदीबहिनी जो संकटमा परेका छन्, उहाँहरुका लागि बढीमा मात्र २१ दिनको योगदान गर्ने हो भने हामीमाथि आइपरेको विपत्तिको सरलीकरण गर्न सक्छौं ।
जीवनको समयको २१ दिन हामी योगदान गर्न तयार होऔं । देश भरीबाट कम्तीमा १ लाख युवाको जनशक्ति रसुवादेखि नवलपरासीसम्मको अन्दाजी ५ सय किलोमिटरमा कार्यरत रह्यौ भने उदाहरणीय कार्य हामीले हाम्रो जीवनमा गर्नेछौं । यो कार्य पीडितहरूका लागि गरिने उद्धार, राहत र पुनर्स्थापना कार्यमा १ खर्ब बढीको सहयोग हुनेछ । यो विचार तपाईंहरुलाई फरकफरक प्रकारले देखिन सक्ला । तर अहिले जसलाई विपत्तिले सताएको छ, उहाँहरुको समस्या पनि हामीले यदि बुझ्ने हो भने भोलि जो कोहीलाई पनि त्यस्तै विपत्ति पर्दा हामीले गर्ने यो सहयोग एउटा प्रेरक अभियान बन्न सक्छ ।
भोलिका दिनमा आपत–् विपद्मा हामी आफैंले सहयोग गर्ने परिपाटी पनि हो र यो एउटा विपद् प्रतिकार्यमा देशवासीका तर्फबाट गर्नुपर्ने राष्ट्रिय जागरण अभियान पनि हो । हामीसँग पैसा नहोला तर सहयोगका लागि हामीसँग समय त छ । त्यसैले हामीसँग भएको समयको सदुपयोग गरेर विपद्मा सहकार्य गरौँ ।
वीर पुर्खाका हामी सन्तानहरूले हाम्रै दाजुभाइ दिदीबहिनीहरूलाई आइपरेको विपत्तिमा गर्नु पर्ने भौतिक सहयोग कार्यमा जुटौँ । राष्ट्रिय दुःखको घडीमा गरिएको यस अनुरोधलाई सबैले सकारात्मक लिनु हुनेछ, भन्ने मेरो विश्वास छ ।
जय मातृभूमि, जय नेपाल ।
(लेखक नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) हुनुहुन्छ ।)











प्रतिक्रिया