न्युमोरोलोजी, रत्न– गहना बजार र नेपालको सम्भावना

-रामप्रसाद देवकोटा

नेपालमा रत्न, गहना, ज्योतिष र अङ्कशास्त्रप्रतिको आकर्षण बढ्दै जाँदा यससँग जोडिएको व्यापारिक बजार पनि विस्तार हुँदै गएको छ। विशेषगरी ब्रासलेट, माला तथा विभिन्न प्रकारका रत्नजडित गहनाको सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट व्यापक प्रचार भइरहेको छ। पछिल्लो समय यस्ता विज्ञापनमा आधुनिक प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को समेत प्रयोग हुन थालेको छ।

अङ्कशास्त्र अर्थात् न्युमेरोलोजीमा अङ्कहरूले मानव जीवनमा प्रभाव पार्ने विश्वास गरिन्छ। वैदिक ज्योतिषमा ग्रह र रत्नबीचको सम्बन्धलाई व्याख्या गरिएझैँ अङ्कशास्त्रमा पनि विभिन्न रत्न तथा पत्थरको प्रयोगबाट जीवनमा सकारात्मक ऊर्जा बढाउने वा प्रतिकूल प्रभाव कम गर्ने दाबी गरिन्छ। यद्यपि यस्ता दाबीलाई वैज्ञानिक प्रमाणका आधारमा हेर्नुपर्ने विज्ञहरूको धारणा छ।

हाल रत्न तथा गहनाको व्यापारमा सामाजिक सञ्जाल प्रमुख प्रचार माध्यम बनेको छ। कतिपय व्यवसायी तथा प्रतिस्पर्धीहरूले डिजिटल प्रविधिको प्रयोग गर्दै विश्वका धनाढ्य व्यक्तिहरू, उनीहरूको हातका रेखा तथा कथित ‘धनयोग’सँग रत्नको सम्बन्ध जोडेर ग्राहक आकर्षित गर्ने प्रयास गरिरहेका छन्। यस्ता प्रचारले उपभोक्ताको ध्यान तान्न सफल भए पनि रत्न खरिद गर्दा यसको वास्तविकता, गुणस्तर, उत्पत्ति र प्रमाणिकरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

रत्न व्यवसायी तथा जेमोलोजिस्टहरुका नेपालमा प्रयोग हुने अधिकांश प्रशोधित पत्थर तथा रत्न स्वदेशमै उत्खनन भएका छैनन्। विश्व बजारमा करिब ८ सयदेखि १ हजार प्रकारका पत्थर तथा रत्न पाइने भए पनि नेपालमा करिब १३ देखि १४ प्रकारका रत्न तथा पत्थर उपलब्ध रहेको बताइन्छ।

तर नेपालमा पाइने ती सबै पत्थरको व्यावसायिक उत्खनन तथा उत्पादन हुन सकेको छैन। स्वदेशमै रत्न प्रशोधन गर्ने उद्योगसमेत प्रारम्भिक अवस्थामै रहेकाले नेपालले ठूलो मात्रामा विदेशी बजारमा निर्भर रहनुपरेको छ। नेपालमा आवश्यक पर्ने प्रशोधित रत्नको ठूलो हिस्सा भारतबाट आयात हुने गरेको छ। त्यसबाहेक थाइल्याण्ड र म्यानमारलगायतका मुलुकबाट समेत पत्थर तथा रत्न आउने गरेका छन्।

विशेषगरी हिरा, माणिक, पन्ना तथा उच्च मूल्यका बहुमूल्य गहनाका लागि नेपाल अझै विदेशी बजारमा निर्भर छ। नेपालमा गहना तयार गरी बिक्री तथा केही अवस्थामा निर्यातसमेत हुने भए पनि कच्चा तथा प्रशोधित रत्नको आपूर्तिमा बाह्य निर्भरता कायम छ।

नेपालमा रत्न तथा गहनाको कारोबार लामो समयदेखि हुँदै आए पनि यसको वास्तविक आयात, उत्पादन, बिक्री तथा रोजगारीसँग सम्बन्धित यकिन तथ्याङ्क सार्वजनिक रूपमा स्पष्ट देखिँदैन। व्यवसायमा ठूलो संख्यामा कालीगढ, डिजाइनर, व्यापारी तथा अन्य श्रमिक संलग्न भए पनि क्षेत्रको नियमन, अभिलेखीकरण र आयात–निर्यात प्रणालीमा अझै सुधार आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ। पारदर्शी तथ्याङ्कको अभावले यस क्षेत्रको वास्तविक आर्थिक योगदान मापन गर्नसमेत कठिनाइ भइरहेको छ।

नेपालमै उपलब्ध १३–१४ प्रकारका पत्थरको वैज्ञानिक अध्ययन, व्यावसायिक उत्खनन, प्रशोधन तथा बजारीकरणमा सरकार र निजी क्षेत्रले लगानी बढाउन सके रत्न तथा गहना उद्योगले नयाँ रोजगारी सिर्जना गर्न सक्ने सम्भावना छ। स्वदेशी कच्चा पदार्थको प्रयोग र आधुनिक प्रशोधन प्रविधिको विकास गर्न सके आयातमा निर्भरता घटाउनुका साथै नेपाली रत्नलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डका रूपमा स्थापित गर्न सकिने सम्भावना पनि देखिन्छ।

त्यसका लागि जेमोलोजिकल परीक्षण तथा प्रमाणिकरण, पारदर्शी आयात–निर्यात प्रणाली, दक्ष जनशक्ति उत्पादन, आधुनिक प्रशोधन उद्योग र स्वदेशी रत्नको प्रवर्द्धन आवश्यक देखिन्छ।

रत्न, ज्योतिष र अङ्कशास्त्रसँग जोडिएका विश्वास समाजमा लामो समयदेखि रहँदै आएका छन्। तर उपभोक्ताले कुनै पनि रत्नलाई स्वास्थ्य, भाग्य वा आर्थिक सफलताको निश्चित समाधानका रूपमा नलिई आफ्नो आवश्यकता र बजेटअनुसार खरिद गर्नुपर्ने देखिन्छ।

विशेषगरी महँगा रत्न खरिद गर्दा विश्वसनीय विक्रेता, जेमोलोजिकल प्रमाणपत्र, रत्नको वास्तविकता तथा गुणस्तर जाँच गर्नु उपयुक्त हुन्छ। नेपालमा रहेको प्राकृतिक रत्नसम्पदालाई व्यवस्थित ढङ्गले उत्खनन, प्रशोधन र बजारीकरण गर्न सके रत्न तथा गहना क्षेत्र विदेशी निर्भरता घटाउने मात्र होइन, रोजगारी, उद्यमशीलता र निर्यात प्रवर्द्धनको महत्वपूर्ण आधार बन्न सक्ने देखिन्छ।

(लेखक रत्न व्यवसायी, अध्यापक तथा जेमोलोजिस्टका रुपमा परिचित हुनुहुन्छ ।)

प्रतिक्रिया

सम्बन्धित समाचार