राणा र प्रसाईँको ‘राजा ल्याउने पार्टी’: सुरु नहुँदै अन्त्य

–सुरेन्द्र सुवेदी

नेपालको राजनीतिमा ‘राजा फर्काउने’ एजेन्डा बोकेर हिँडेका शक्तिहरूबिचको फुट र आन्तरिक कलह कुनै नौलो विषय होइन। तर, पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई नयाँ राजनीतिक ध्रुवीकरण र सडक आन्दोलनको घोषणा गरेका पूर्वमहामन्त्री डा धवलशम्शेर राणा र राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईं बिचको नयाँ जुहारीले भने यो आन्दोलन स्थापना र औपचारिक स्वरूप लिनुअघि नै कसरी भुत्ते बन्यो भन्ने प्रस्ट पारेको छ।

राप्रपाको महाधिवेशन र त्यसपछिका आन्तरिक शक्ति सङ्घर्षमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग असन्तुष्ट बनेर बाहिरिएका धवलशम्शेर र मेडिकल व्यवसायीबाट एकाएक राजावादी आन्दोलनका कमान्डर बन्न पुगेका दुर्गा प्रसाईंले केही समयअघि मात्रै ३१ वटा विभागीय जिम्मेवारी बाँडफाँड गर्दै नयाँ पार्टी गठनको घोषणा गरेका थिए। तर, संयुक्त पत्रकार सम्मेलनको मसी नसुकै प्रसाईंले ‘धवलशम्शेरसहितका राणाहरू देशमा रहेसम्म राजा फर्किँदैनन्’ र ‘धवलशम्शेर राजा ल्याउने पक्षमै छैनन्’ भन्दै सार्वजनिक रूपमै गम्भीर आरोप लगाएका छन्। पार्टी दर्ता र आन्दोलनको औपचारिक सुरुवात हुनुअघि नै सुरु भएको यो वाक युद्धले राजावादी कित्ताको भित्री कुरूपता र असङ्गतिलाई छताछुल्ल पारिदिएको छ।

राजावादी आन्दोलन यसरी स्थापना हुनुअघि नै तुहिनु वा असफल हुनुका पछाडि इतिहासदेखिकै गुटबन्दी र अहम्को लडाइँ कारक छ। २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि पञ्चायत ढलेलगत्तै राजावादीहरूले सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा दुईवटा छुट्टाछुट्टै राप्रपा थापा र राप्रपा चन्द गठन गरेका थिए। सत्ता र नेतृत्वको हानथापका कारण सुरु भएकै दिन फुटेको त्यो इतिहास ३५ वर्ष बितिसक्दा पनि अझै दोहोरिइरहेको छ।

त्यसयता राप्रपा, राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक, र राष्ट्रिय जनशक्ति पार्टी जस्ता अनगिन्ती टुक्रामा विभाजित हुँदै राजावादीहरू कहिले मिलापत्र त कहिले विभाजनको चक्रव्यूहमा फसिरहे। २०७८ को राप्रपा महाधिवेशनमा कमल थापालाई हराएर राजेन्द्र लिङ्देन अध्यक्ष चुनिएपछि फेरि कमल थापाले राप्रपा नेपाल ब्युँताए। त्यसपछि नवराज सुवेदी, केसरबहादुर विष्ट, प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर राणादेखि रवीन्द्र मिश्रसम्मका आ–आफ्नै महत्त्वाकाङ्क्षाले यो कित्तालाई कहिल्यै एक हुन दिएन।

दुर्गा प्रसाईंको मूल राजनीतिक पृष्ठभूमि माओवादी र एमाले हुँदै राजावादी कित्तासम्म आइपुगेको हो। उनको उत्तेजक भाषण र पपुलिस्ट शैलीले सामाजिक सञ्जालमा त चर्चा पायो, तर राजनीतिक दर्शन र नीतिगत निरन्तरता भने शून्य रह्यो। अर्कोतर्फ, डा धवलशम्शेर राणा राप्रपाभित्रै संस्थागत राजनीतिबाट आएका नेता हुन्। यी दुई फरक पृष्ठभूमि र कार्यशैली भएका पात्रहरूबिचको गठबन्धन सैद्धान्तिक धरातलमा भन्दा पनि सामयिक असन्तोषमा टिकेको थियो, जुन पहिलो धक्कामै छिन्नभिन्न भयो।

गत वर्ष काठमाडौँको तीनकुनेमा आयोजना गरिएको हिंसात्मक प्रदर्शन र बालखुकै प्रदर्शनहरूमा संयमता अपनाउन नसक्दा आम नागरिकमा यस आन्दोलनप्रति वितृष्णा पैदा भयो। पूर्वराजा ज्ञानेन्द्र शाह स्वयम्‌ले समेत सचिवालयमार्फत प्रदर्शन र हिंसामा आफ्नो संलग्नता नरहेको सफाइ दिनुपर्ने स्थिति आयो। आन्दोलनलाई वैचारिक रूपमा अघि बढाउनुको सट्टा हुलमुल र अराजकतामा ढाल्न खोज्दा राजावादी आन्दोलनको जनसमर्थन घट्दै गयो।

पूर्वराजा ज्ञानेन्द्रलाई अभिभावक मानेर नवराज सुवेदी, राजेन्द्र लिङ्देन, कमल थापा, दुर्गा प्रसाईं, धवलशम्शेर राणा, रवीन्द्र मिश्रलगायतलाई समेटेर बनाइएका विभिन्न ‘आन्दोलन समिति’ हरू सधैँ आन्तरिक ईर्ष्याको शिकार बने। पूर्वराजा ज्ञानेन्द्र स्वयम्‌ले पनि कुन शक्ति र नेतालाई आधिकारिक मान्ने भन्ने विषयमा प्रस्ट सङ्केत दिन सकेनन्। जसले गर्दा प्रत्येक नेताले आफूलाई नै ‘राजसंस्थाको मुख्य प्रतिनिधि’ दाबी गर्ने र अरूलाई धोकेबाज करार गर्ने होड चल्यो।

नेपालमा अहिलेको दलीय शासन प्रणालीका त्रुटि, भ्रष्टाचार र असफलताबाट आजित भएका जनताको असन्तोषलाई भजाएर राजावादी आन्दोलन उठाउने प्रयास पटक– पटक भए। तर, आन्दोलनको नेतृत्व गर्ने भनिएका पात्रहरू नै विचार, निष्ठा र दूरदर्शिताभन्दा पनि व्यक्तिगत स्वार्थ र जात र वंशको अहम्‌मा अल्झिए।

राणा र प्रसाईंले नयाँ पार्टी घोषणा गरेर आन्दोलनको आँधीबेहरी ल्याउने जुन दाबी गरेका थिए, त्यो सुरु नहुँदै एक– अर्काविरुद्ध छ्यापिएको हिलो र आरोप– प्रत्यारोपमै समाप्त भएको छ। ‘राणा रहेसम्म राजा आउँदैनन्’ प्रसाईंको पछिल्लो अभिव्यक्तिले केवल धवलशम्शेरमाथि प्रश्न उठाएको छैन, बरु स्थापना नहुँदै यो नयाँ पार्टी र समग्र राजावादी आन्दोलन कति दिशाहीन र भुत्ते भइसकेको छ भन्ने वास्तविकतालाई नाङ्गै पारिदिएको छ।

अनि, अन्तिम र सत्य कुरो भनेको प्रसाईँको हैसियत यो भन्दा माथिको थिएन र हुने पनि छैन । अन्तत : उनले आफ्नो हैसियत फेरि नेपाली जनता, पूर्व राजा र राजसंस्थालाई पुनः फिर्ता ल्याउने भनेर हौसिएका पूर्व पञ्चदेखि सबैलाई पुष्टि गरेर देखाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार