सङ्क्रमणको जोखिम नियन्त्रण गर्न प्रहरीद्वारा ६६९ बेवारिसे शवको वैज्ञानिक व्यवस्थापन

भोटेकोशी बाढीपछि विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका अंगहरूको वैज्ञानिक तथा कानुनी प्रक्रियाबाट व्यवस्थापन गर्न नेपाल प्रहरीले तीव्रता दिएको छ। विपद्पछि शव फेला पर्ने क्रम बढ्दै गएको र कतिपय शव सड्न थालेकाले स्वास्थ्य सङ्क्रमण तथा महामारीको जोखिम न्यूनीकरण गर्न प्रहरीले सुरक्षित र व्यवस्थित रूपमा शव व्यवस्थापन अघि बढाएको हो।

नेपाल प्रहरीका अनुसार हालसम्म विभिन्न जिल्लाबाट ६६९ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २४८, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी (पूर्व) मा १५८ र नवलपरासी (पश्चिम) मा ७५ शव रहेका छन्।

फेला परेका शवमध्ये पहिचान खुल्न नसकेका शवहरूको व्यवस्थापन सम्बन्धित जिल्ला सुरक्षा समितिको निर्णय तथा प्रचलित कानुनी व्यवस्थाअनुसार भइरहेको प्रहरीले जनाएको छ। विशेषगरी चितवनलगायतका जिल्लामा पहिचान हुन नसकेका शवको व्यवस्थापन प्रक्रिया अघि बढाइसकिएको छ।

प्रहरीले शव व्यवस्थापन गर्दा भविष्यमा आफन्तले दाबी गर्न सक्ने सम्भावनालाई समेत ध्यानमा राख्दै वैज्ञानिक प्रमाण र अभिलेख सुरक्षित राख्ने व्यवस्था मिलाएको छ। नदी किनार, खोल्सा तथा विपद्ग्रस्त क्षेत्रबाट फेला परेका शव तथा शरीरका अवशेषलाई सावधानीपूर्वक संकलन गरी घटनास्थलमै लासजाँच मुचुल्का तयार पार्ने र सुरक्षित रूपमा शव गृहमा भण्डारण गर्ने गरिएको छ।

शवलाई ‘डेड बडी ब्याग’मा राखेर अस्पतालको शव गृहमा सुरक्षित गरिन्छ। त्यसपछि फरेन्सिक चिकित्सकको उपस्थितिमा शव सफा गरी पहिचान खुल्न सक्ने अंग, चिन्ह तथा विशेष विवरण स्पष्ट देखिने गरी विभिन्न कोणबाट तस्बिर खिचिन्छ। आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमसमेत गरिन्छ।

आफन्तले सहज रूपमा पहिचान गर्न सकून् भन्ने उद्देश्यले उपलब्ध शवका तस्बिर तथा विवरण सार्वजनिक प्रदर्शनीमा राख्ने व्यवस्था पनि गरिएको छ। हेल्प डेस्कमार्फत आफन्त सम्पर्कमा आएमा हुलिया, कपडा, व्यक्तिगत सामग्री तथा लासजाँच मुचुल्कालगायतका विवरण मिलाएर कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने गरिएको प्रहरीले जनाएको छ।

पहिचान हुन नसकेका शवलाई छुट्टाछुट्टै संकेत नम्बर प्रदान गरी हुलिया, कपडा र साथमा भेटिएका व्यक्तिगत सामग्रीको अभिलेख राखिन्छ। भविष्यमा आवश्यक पर्न सक्ने भएकाले प्रत्येक शवको डीएनए नमुनासमेत सुरक्षित राख्ने व्यवस्था गरिएको छ।

‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयबाट पहिचान नभएका शवलाई जमिनमुनि व्यवस्थापन गर्ने गरिएको छ। यसरी व्यवस्थापन गर्दा शवको संकेत नम्बर माथि र तल दुवैतर्फ राख्नुका साथै उक्त स्थानको जीपीएस लोकेसन, तस्बिर तथा नक्सासहितको विवरण अभिलेखमा राखिन्छ।

प्रहरीले भविष्यमा कुनै परिवार वा आफन्तले बेवारिसे शवमाथि दाबी गरेमा पहिचान तथा कानुनी प्रक्रिया अघि बढाउन सकिने गरी पोष्टमार्टम रिपोर्ट, डीएनए नमुना, जीपीएस विवरण, तस्बिर तथा लासजाँच मुचुल्कालगायतका सम्पूर्ण अभिलेख सुरक्षित राख्ने जनाएको छ।

बेवारिसे तथा पहिचान नखुलेका शवसम्बन्धी विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा समेत उपलब्ध गराइएको छ। वेबसाइटमा रहेको ‘पहिचान नखुलेको शवहरूको विवरण’ शीर्षकको व्यवस्था प्रयोग गरी सर्वसाधारणले उपलब्ध विवरण हेर्न सक्नेछन्।

प्रहरीले विपद्पछि फेला परेका शवको व्यवस्थापनलाई केवल तत्कालीन स्वास्थ्य जोखिम नियन्त्रणको विषयका रूपमा मात्र नभई भविष्यमा पहिचान तथा कानुनी प्रक्रिया आवश्यक पर्न सक्ने अवस्थालाई समेत ध्यानमा राखेर वैज्ञानिक अभिलेख व्यवस्थापनसहित अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार