झापामा सीमापार तस्करी गर्न लागिएको ६ सय किलो फर्सीको बियाँ बरामद

सशस्त्र प्रहरी बल, नेपालले झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध रूपमा भारततर्फ लैजाँदै गरेको फर्सीको बियाँ बरामद गरेको छ।

शनिबार मेचीनगर नगरपालिका–६ स्थित तुर्केनी नजिकैको मेची खोला किनारबाट सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म काँकडभिट्टाको गस्ती टोलीले १९ बोरा (करिब ६ सय किलो) फर्सीको बियाँ नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार खेतको बाटो हुँदै गैरकानुनी रूपमा भारत लैजान लागिएको अवस्थामा उक्त सामग्री बरामद गरिएको हो। सीमा क्षेत्रमा नियमित गस्तीमा रहेको प्रहरी टोलीलाई देख्नासाथ ओसारपसारमा संलग्न तस्करहरू सामान छोडेर फरार भएका थिए।

बरामद गरिएको फर्सीको बियाँको बजार मूल्य करिब रु. ५ लाख अनुमान गरिएको छ। नियन्त्रणमा लिइएको सामानलाई आवश्यक कारबाहीका लागि काँकडभिट्टा भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार