रसुवा बाढी : नेपाली सेनाद्वारा ५५० पर्यटकको उद्धार, टनेल प्रवेशद्वार खोजिँदै

सुवामा आएको बाढीका कारण प्रभावित भएकाहरूको खोज तथा उद्धारका क्रममा नेपाली सेनाले शनिबार ५ सय ५० जना पर्यटकको सफल उद्धार गरेको छ। सेनाको हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुवेशी र मैलुङलगायतका स्थानबाट ५४ विदेशी नागरिक (४६ चिनियाँ र ८ भारतीय) सहित ५ सय ५० जनाको उद्धार गरिएको हो।

यस्तै बाढीका कारण पुरेका हाइड्रोपावरका टनेलहरूमा विभिन्न आधुनिक उपकरणको प्रयोग गरी प्रवेशद्वार पत्ता लगाउने र बेपत्ताहरूको खोजी गर्ने प्रयास तीव्र पारिएको छ। हालसम्म २ हजार ६ सय ५० जनाको उद्धार भइसकेको नेपाली सेनाले जनाएको छ ।

यही भाद्र १० गतेदेखि हालसम्म नेपाली सेनाले स्थल मार्गबाट २ सयजना र हवाई साधनमार्फत २ सय १६ विदेशी नागरिक (१२१ भारतीय, ४ जर्मन, ७२ चिनियाँ, २ अमेरिकी, २ इटालियन, १ ओमान र १५ कोरियन) सहित कुल २ हजार ४ सय ५० जना गरी जम्मा २ हजार ६ सय ५० जनाको उद्धार गरिसकेको छ।

उद्धारसँगै राहत सामग्री ढुवानीलाई पनि प्राथमिकता दिइएको छ। काठमाडौँबाट त्रिशूलीसम्म हवाई एवम् स्थल मार्गबाट र त्रिशूलीबाट दुर्गम प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत आवश्यक राहत सामग्री पठाइएको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार