६० घण्टापछि चमत्कार: बाढीको भग्नावशेषबाट ६ वर्षीया मनिषाको सशस्त्र प्रहरीबाट उद्धार

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा पुरिएर बेपत्ता भएकी रसुवा गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ। विपद्को यो कठिन घडीमा ६० घण्टासम्म भग्नावशेषभित्र रहेर पनि बालिका जीवितै भेटिनुलाई उद्धारकर्मीहरूले ‘प्रकृतिको चमत्कार’ र ठूलो सफलताका रूपमा लिएका छन्।

शुक्रबार साँझ उद्धारमा खटिएको सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले बाढीले थुपारेको ढुंगा, माटो र काठको थुप्रोभित्रबाट बालिकालाई सकुशल निकालेको हो।

कसरी भयो उद्धार ?

सशस्त्र प्रहरीका अनुसार टिमुरेस्थित बोर्डर आउटपोस्ट (बीओपी) बाट करिब २०० मिटरको दूरीमा लेदो, ढुंगा र काठको कचराभित्र खोजी गर्ने क्रममा बालिकाको उपस्थिति पत्ता लागेको थियो। लामो समयसम्म माटो र भग्नावशेषमुनि थिचिएकी बालिका भेटिएलगत्तै एपीएफ टोलीले सावधानीपूर्वक उद्धार गरी तत्कालै प्राथमिक उपचार प्रदान गरेको थियो।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले उद्धार गरिएकी बालिका मनिषा मगर रहेको पुष्टि गर्दै बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाको थप विवरण संकलन भइरहेको जानकारी दिए।

उपचारका लागि काठमाडौँ ल्याइयो 

उद्धारपछि शुक्रबार राति टिमुरे बीओपीमै सुरक्षित राखिएकी मनिषालाई शनिबार थप गहन स्वास्थ्य परीक्षण र उपचारका लागि काठमाडौँ ल्याइएको छ। उनलाई अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टीयू टिचिङ) मा भर्ना गरिएको छ।

गएको भाद्र १० गते बिहान भोटेकोसी नदीमा आएको भिषण बाढीले रसुवागढी क्षेत्रसहित तल्लो तटीय इलाकामा व्यापक जनधनको क्षति पुर्‍याएको थियो। बाढीका कारण अझै धेरै मानिस बेपत्ता रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी तथा उद्धारकार्यलाई निरन्तरता दिइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार