चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोड राहत घोषणा

चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवा तथा वरपरका बाढी प्रभावित क्षेत्रका लागि करिब १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यक्रमको घोषणा गरेका छन्।

भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दुवै संस्थाले प्रभावित समुदायको तत्कालीन आवश्यकता पूर्ति तथा दीर्घकालीन पुनर्स्थापनाका लागि साझा प्रतिबद्धता जनाएका हुन्। बाढी गएको अर्काे दिन अर्थात भदौ ११ गतेदेखि नै प्रभावित क्षेत्रमा खटिएका कर्मचारीहरूमार्फत खाद्यान्न, तयारी खाना, पिउने पानी, लत्ताकपडा, त्रिपाल, बिस्कुट तथा सरसफाइका सामग्रीहरू निरन्तर वितरण भइरहेको छ।

स्थानीय प्रशासनको सहकार्यमा नुवाकोट र रसुवामा दुईवटा व्यवस्थित राहत शिविर सञ्चालन गरी प्रभावितहरूलाई दैनिक भोजनको व्यवस्था मिलाइएको छ। साथै, धुलिखेल अस्पतालसँगको सहकार्यमा प्राथमिक स्वास्थ्य सेवा र रोग रोकथामका लागि स्वास्थ्य शिविर आयोजना गरिनेछ।

बाढीका कारण घर पूर्ण रूपमा गुमाएका वा बस्न अयोग्य भएका परिवारका लागि सरकार तथा स्थानीय तहको सहकार्यमा ५ सयवटा अस्थायी आवास एकाइ निर्माण गरिनेछ। दीर्घकालीन जनस्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै धुलिखेल अस्पतालसँगको सहकार्यमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्ने योजना रहेको छ।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले तत्कालीन प्राथमिकता जीवन रक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्नु भए पनि संस्थाको जिम्मेवारी आपत्कालीन राहतमा मात्र सीमित नहुने बताउनु भयो। उहाँले उद्धारदेखि अस्थायी आवास र दीर्घकालीन पुनर्स्थापनासम्मका सम्पूर्ण चरणमा संस्था प्रतिबद्ध रहने स्पष्ट पार्नु भएको छ । नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र स्वयंसेवकहरूसँगको निकट समन्वयमा राहत सामग्री तथा सहायता पारदर्शी र प्रभावकारी रूपमा वास्तविक पीडितसम्म पुर्‍याइने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित समाचार