रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावितहरूको उद्धार तथा बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपालले थप जनशक्तिसहित ४ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। सशस्त्र प्रहरीले बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा वेश क्याम्प स्थापना गरी खोजीकार्यलाई तीव्रता दिएको हो ।
यसरी परिचालित टोलीमा दक्ष खोज तथा उद्धारकहरूका साथै मास क्याजुअल्टी भेहिकल, शव व्यवस्थापन टोली, शिविर समन्वय तथा व्यवस्थापन टोली र प्राथमिक उपचारका लागि चिकित्सकसहितको टोली खटिएका छन् । भत्किएका संरचनाभित्र खोज तथा उद्धारका लागि छुट्टै ४४ जनाको विशेष टोलीसमेत परिचालन गरिएको छ । खोजीकार्यलाई थप प्रभावकारी र द्रुत बनाउन सशस्त्र प्रहरीले ५ वटा ड्रोनसहितको विशेष ड्रोन स्क्वाडु ७ वटा के–नाईन कुकुर टोली तथा जोखिमपूर्ण क्षेत्रमा गोताखोर टोली परिचालन गरेको छ ।

बाढीमा परेकाहरूमध्ये सशस्त्र प्रहरीको एकल प्रयासमा ३२ जना र अन्य सुरक्षा निकायहरूसँगको संयुक्त प्रयासमा १ हजार ४ सय ७३ जनाको सकुशल उद्धार गरिएको छ । भोटेकोशीहुँदै त्रिशूली नदीतटीय भेगका ४८ वटा वडामा रहेका १ हजार २ सयबढी विपद् सूचकहरूमार्फत सूचना संकलन गरी उद्धारलाई व्यवस्थित बनाइएको छ। त्यस्तै, प्रभावित क्षेत्रमा होल्डिङ् सेन्टर निर्माण, राहत सामग्री ढुवानी तथा नुवाकोटमा सञ्चालित स्वास्थ्य शिविरमार्फत हालसम्म १ सय ४३ जनाको आपत्कालीन उपचार गरिएको छ।
सशस्त्र प्रहरीले ऊर्जा व्यवस्थापनका लागि ८ वटा जेनेरेटर, इन्धन, ५ वटा सोलार प्यानल र १५ वटा ग्यास सिलिन्डर समेत प्रभावित क्षेत्रमा पुर्याएको छ। बाढीका कारण ज्यान गुमाएका मध्ये सशस्त्र प्रहरीको एकल प्रयासमा १ सय १० जना र संयुक्त प्रयासमा ५ सय ५६ जनाको शव फेला पारिएको छ। नुवाकोटमा फसेका ५९ जनालाई सशस्त्र प्रहरीको सवारी साधनमार्फत सुरक्षित रूपमा काठमाडौँ ल्याइएको छ।सशस्त्र प्रहरी बल नेपालले थप उद्धार, राहत तथा सूचनाका लागि निःशुल्क हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध पनि गरेको सशस्त्र प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।






प्रतिक्रिया