काठमाडौं । १८औँ नाडा अटो शो २०२६ लाई लक्षित गर्दै सहभागी बैंकहरूले अटो लोनमा विभिन्न आकर्षक योजना सार्वजनिक गरेका छन्। ग्राहकलाई सहज तथा तुलनात्मक रूपमा सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने उद्देश्यले बैंकहरूले ब्याजदर, सेवा शुल्क, कर्जा अवधि, डाउन पेमेन्ट तथा विद्युतीय सवारी (ईभी) कर्जामा विशेष सुविधा ल्याएका हुन्।
नाडा अटो शोमा सरकारी तथा निजी क्षेत्रका गरी १३ वटा वाणिज्य बैंक सहभागी छन्। तीमध्ये अधिकांश बैंकले अटो लोनको ब्याजदर ४.६६ प्रतिशतदेखि ५.९९ प्रतिशतसम्म कायम गरेका छन्। बैंकअनुसार ब्याजदरको प्रकृति, कर्जा अवधि, सेवा शुल्क तथा अन्य सुविधामा भने फरक–फरक व्यवस्था गरिएको छ।
अटो लोनमा सबैभन्दा कम ४.६६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने कृषि विकास बैंकले जनाएको छ। बैंकले सात वर्षसम्मको अवधिका लागि कर्जा उपलब्ध गराउनेछ। अटो शो अवधिलाई लक्षित गर्दै बैंकले सेवा शुल्क र ब्याजदर प्रिमियममा ३३.३३ प्रतिशत छुटको योजना ल्याएको छ। ईभी खरिद गर्ने ग्राहकका लागि सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ।
त्यस्तै, नेपाल बैंकले अटो शो अवधिभर ४.९४ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ। राष्ट्रिय वाणिज्य बैंकले ५.०२ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ। फ्लोटिङ रेटमा उपलब्ध हुने यो कर्जाको अवधि सात वर्षसम्म रहनेछ भने अधिकतम एक करोड रुपैयाँसम्म कर्जा लिन सकिने बैंकले जनाएको छ। सामान्य अवस्थामा ०.७५ प्रतिशत रहेको सेवा शुल्कलाई अटो शो अवधिमा घटाएर ०.५० प्रतिशत कायम गरिएको छ।
नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ। बैंकले २० प्रतिशत डाउन पेमेन्टमै सवारी खरिद गर्न सकिने योजना ल्याएको छ। योजनाअनुसार ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट र थप २० प्रतिशत रकम क्रेडिट कार्डमार्फत भुक्तानी गर्नेछन् भने बाँकी ६० प्रतिशत रकम बैंकले कर्जाका रूपमा उपलब्ध गराउनेछ।
एनआईसी एशिया बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा सात वर्षसम्मका लागि अटो लोन दिने भएको छ। अधिकांश बैंकले फ्लोटिङ ब्याजदरमा कर्जा उपलब्ध गराइरहेका बेला एनआईसी एशियाले स्थिर ब्याजदरको विकल्पसमेत दिएको हो। बैंकले फ्लोटिङ रेटमा पनि अटो लोन उपलब्ध गराउँदै आएको जनाएको छ। ईभी सवारी खरिद गर्ने ग्राहकका लागि सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिने बैंकको भनाइ छ।
ग्लोबल आइएमई बैंकले ईभी सवारी खरिदका लागि ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ। बैंकले स्थिर ब्याजदरको विकल्पसमेत दिएको छ। सात वर्ष अवधिको कर्जामा पहिलो तीन वर्ष ५.१७ प्रतिशत ब्याजदर कायम हुनेछ भने त्यसपछिका चार वर्षमा सम्बन्धित अवधिको बेस रेटमा दुई प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ।
माछापुच्छ्रे बैंकले ५.४५ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ। नाडा अटो शोलाई लक्षित गरी ल्याइएको योजनामा कर्जाको अवधि १० वर्षसम्म राखिएको छ। अधिकांश बैंकले सात वर्षसम्मको कर्जा अवधि तोकेका बेला माछापुच्छ्रेले तुलनात्मक रूपमा लामो अवधि उपलब्ध गराएको हो। कर्जाको सेवा शुल्क सामान्य अवस्थामा ०.५० प्रतिशत रहेकामा अटो शो अवधिभर ०.२५ प्रतिशत कायम गरिएको बैंकले जनाएको छ।
प्रभु बैंकले ५.४४ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ। बैंकका अनुसार कर्जाको ब्याजदर आधारदरमा अधिकतम ०.५० प्रतिशत प्रिमियम थप गरी निर्धारण हुनेछ। लक्ष्मी सनराइज बैंकले ५.४९ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ। सात वर्ष अवधिको यो कर्जा फ्लोटिङ रेटमा उपलब्ध हुनेछ भने सेवा शुल्क ०.५० प्रतिशत रहने बैंकले जनाएको छ।
त्यस्तै, कुमारी बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले क्रमशः ५.२१ प्रतिशत, ५.५४ प्रतिशत, ५.९६ प्रतिशत र ५.१३ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएका छन्। यी बैंकहरूले सात वर्षसम्मको अवधिका लागि फ्लोटिङ ब्याजदरमा कर्जा उपलब्ध गराउनेछन् भने सेवा शुल्क ०.५० प्रतिशत रहने जनाइएको छ।
नाडा अटो शोमा बैंकहरूले ब्याजदरमा मात्र प्रतिस्पर्धा गरेका छैनन्। कर्जाको अवधि, सेवा शुल्क, डाउन पेमेन्ट, स्थिर वा फ्लोटिङ ब्याजदर तथा ईभी सवारीमा उपलब्ध कर्जा सीमामा समेत विभिन्न सुविधा ल्याएका छन्। यसले एउटै सवारी खरिद गर्न चाहने ग्राहकलाई बैंक तथा कर्जा योजनाको तुलना गरी आफूलाई अनुकूल हुने विकल्प छनोट गर्ने अवसर दिएको छ।







प्रतिक्रिया