काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जनाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
बाढीपछि आयोजनाको सुरुङभित्र ठूलो संख्यामा मानिस फसेको खबर सार्वजनिक भएपछि उनीहरूको अवस्थालाई लिएर व्यापक चिन्ता बढेको थियो। चुनौतीपूर्ण परिस्थितिका बीच नेपाली सेनाले उद्धार अभियान सञ्चालन गरी सुरुङभित्र रहेका ३५० जनालाई सुरक्षित रूपमा बाहिर निकालेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यद्यपि, आयोजनाको सुरुङभित्र अझै १०० जनाभन्दा बढी मानिस फसेको हुनसक्ने सेनाको अनुमान छ। उनीहरूको खोजी तथा उद्धार कार्यसमेत जारी रहेको जनाइएको छ।
नेपाली सेनाले बिहीबार रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट स्थानीय तथा मजदुर गरी कुल ८८३ जनाको उद्धार गरेको जनाएको छ। उद्धार गरिएकामध्ये टिमुरे क्षेत्रबाट ९५ जनासहित विभिन्न प्रभावित क्षेत्रका मानिस रहेका छन्।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका र उत्तरगया गाउँपालिका क्षेत्रमा निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना २१६ मेगावाट क्षमताको आयोजना हो। आयोजनाका मुख्य संरचना भूमिगत रहेका छन् र निर्माणका क्रममा ठूलो संख्यामा नेपाली तथा स्थानीय श्रमिक कार्यरत छन्।
भोटेकोशीमा आएको बाढीले आयोजना क्षेत्रसहित नदी आसपासका बस्ती तथा पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षा निकाय परिचालन भएका छन्। बाढीका कारण प्रभावित क्षेत्रमा अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको र उद्धार तथा खोजी अभियानलाई तीव्रता दिइएको छ।








प्रतिक्रिया