काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनःस्थापनाका लागि राहत अभियान तीव्र बनाएको छ।
चेम्बरले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित सर्वसाधारण, स्वदेशी तथा विदेशी यात्रु, उद्योगी–व्यवसायी र स्थानीय समुदायसँग चेम्बर सधैं साथमा रहने प्रतिबद्धता जनाएको छ।
बाढीका कारण घर, पसल, निजी तथा सार्वजनिक सवारीसाधन, मालवाहक सवारी, भन्सार यार्डमा रहेका सवारीसाधन, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको चेम्बरले जनाएको छ। विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले चेम्बरले राहत संकलन तथा वितरणको काम अघि बढाएको हो।
चेम्बरका अनुसार रसुवा, नुवाकोट तथा धादिङमा सम्बन्धित जिल्ला चेम्बरमार्फत तत्काल नगद तथा जिन्सी सहयोग उपलब्ध गराइएको छ। आवश्यकताअनुसार थप राहत सहयोगलाई निरन्तरता दिइने चेम्बरले जनाएको छ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले ५० केजी पेलोड क्षमताको ड्रोन तथा एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको जनाएको छ। त्यस्तै, १०० केजी पेलोड क्षमताको अर्को ड्रोन पठाउने अन्तिम तयारी भइरहेको र आवश्यकताअनुसार थप सहयोग गरिने चेम्बरले जनाएको छ।
प्रभावित क्षेत्रमा चेम्बरले १२५ वटा पावर बैंकसमेत उपलब्ध गराइसकेको जनाएको छ। यसैगरी, नेपाल यूथ चेम्बरले भदौ ११ गते जमलस्थित सचिवालयमा रक्तदान कार्यक्रम आयोजना गरेको र आवश्यकताअनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
चेम्बरले आफ्ना मातहतका जिल्ला तथा नगर चेम्बर, नेपाल महिला चेम्बर, नेपाल यूथ चेम्बर, विपद् व्यवस्थापन परिषद् तथा अन्य वस्तुगत संघसंस्थालाई उद्धार, राहत तथा आवश्यक व्यवस्थापनका कार्यमा तत्काल सक्रिय हुन आग्रह गरेको छ।
विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिक सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्दै एकजुट हुनुपर्ने चेम्बरले जनाएको छ। तत्काल उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा समेत आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता चेम्बरले व्यक्त गरेको छ।







प्रतिक्रिया