प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा मानवीय दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्राइम कमर्सियल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

यसका साथै बैंकले बाढी प्रभावित नागरिकका लागि करिब ७ लाख रुपैयाँ बराबरका विभिन्न खाद्यान्न तथा आवश्यक सामग्रीसमेत सहयोग गरेको जनाएको छ। प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले आर्थिक तथा जिन्सी सहयोग उपलब्ध गराएको हो।

प्राइम कमर्सियल बैंकले देशमा आइपर्ने प्राकृतिक विपद्का समयमा सरकार तथा प्रभावित समुदायलाई आवश्यक सहयोग गर्दै आएको जनाएको छ। यसअघि पनि बैंकले विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग प्रदान गर्दै आएको थियो।

बैंकले आगामी दिनमा पनि प्राकृतिक विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार