बीमा प्राधिकरण कोशीले गर्यो विद्यार्थी तथा शिक्षकसँग बीमासम्बन्धी अन्तरक्रिया

विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीसँग बीमासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा आर्थिक जोखिम न्यूनीकरणको महत्वपूर्ण माध्यम भएकाले सबै नागरिक बीमाको दायरामा आउनुपर्ने बताउनुभयो। उहाँले बीमाको महत्व, फाइदा तथा नेपालमा बीमाको वर्तमान अवस्थाबारे आम समुदायमा पर्याप्त सचेतना आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

जोखिमका समयमा आर्थिक सहयोग प्राप्त गर्न बीमा महत्वपूर्ण भए पनि बीमा गर्दा नागरिक स्वयं सचेत हुनुपर्ने उहाँको भनाइ थियो। महर्जनले परिवार तथा समुदायमा जीवन र निर्जीवन बीमाबारे जानकारी फैलाउँदै विभिन्न जोखिम तथा विपद्का कारण हुने आर्थिक क्षतिबाट माथि उठ्न बीमाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

उहाँले बीमाले जीवन तथा सम्पत्तिमा आइपर्न सक्ने जोखिमबाट आर्थिक सुरक्षा प्रदान गर्नुका साथै क्षति न्यूनीकरणमा समेत सहयोग गर्ने बताउँदै जीवन बीमासँगै घर, कृषि तथा पशुपन्छीको समेत बीमा गर्न सकिने जानकारी दिनुभयो। बीमा गर्दा सम्बन्धित बीमा कम्पनीका योजना, नियम तथा सर्तहरूबारे राम्रोसँग बुझेर मात्र बीमा गर्न उहाँले आग्रह गर्नुभयो।

कार्यक्रममा जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक चिन्तामणि रिजालले आर्थिक जोखिम न्यूनीकरणका लागि प्रत्येक परिवारमा बीमाको आवश्यकता भए पनि बीमासम्बन्धी पर्याप्त जानकारीको अभावमा अझै पनि कतिपय नागरिक बीमा गर्न हिच्किचाउने गरेको बताउनुभयो। विद्यालय तहबाटै बीमासम्बन्धी ज्ञान र चेतना अभिवृद्धि गर्न सके यसको पहुँच विस्तार गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूले बीमासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। सहभागीहरूको प्रश्नको जवाफ दिँदै प्राधिकरणका कोशी प्रदेश प्रमुख महर्जनले जोखिम उत्पन्न हुनुअघि नै भविष्यमा आइपर्न सक्ने जोखिमका लागि आफ्नो आम्दानीबाट केही रकम छुट्याएर बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा विद्यालयका कक्षा ८, ९ र ११ मा अध्ययनरत करिब ८० जना विद्यार्थी तथा शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक प्रथम मिलन पोखरेलले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार