रसुवाको बाढीपछि ७ बैंकका २७ कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा रहेका ७ बैंकका शाखामा कार्यरत २७ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। बुधबार बिहान आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएको र बिहीबार अबेरसम्म पनि सम्पर्क हुन नसकेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिएका छन्।
कोइरालाका अनुसार सम्पर्कविहीन कर्मचारीको खोजी तथा उनीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ। तर बिहीबार अबेरसम्म ७ वटा बैंकका शाखामा कार्यरत २७ जना कर्मचारीसँग सम्पर्क हुन नसकेको उनले बताए। सम्पर्कविहीन कर्मचारीहरू अधिकांश टिमुरे, स्याफ्रुबेँसीलगायत बाढी प्रभावित क्षेत्रका शाखामा कार्यरत रहेको उनले जानकारी दिए।
बाढीका कारण विभिन्न बैंकका ९ वटा शाखा कार्यालयमा पूर्ण क्षति पुगेको बैंकर्स एसोसिएसनले जनाएको छ। शाखा कार्यालयहरूमा ठूलो क्षति पुगे पनि बैंकका भौतिक तथा वित्तीय सम्पत्तिमा कति नोक्सान भयो भन्ने यकिन विवरण भने तत्काल निकाल्न सकिने अवस्था नरहेको कोइरालाले बताए।
सम्पर्कविहीन कर्मचारीमध्ये सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका छन्। उक्त बैंकका ७ जना कर्मचारी सम्पर्कविहीन रहेका छन्। त्यस्तै, माछापुच्छ्रे बैंकका ५ जना, सानिमा बैंकका २ जना, लक्ष्मी सनराइज बैंकका ३ जना, हिमालयन बैंकका १ जना, एनएमबी बैंकका ४ जना र प्रभु बैंकका ५ जना कर्मचारी सम्पर्कविहीन रहेको कोइरालाले जानकारी दिए।
बाढीका कारण शाखा कार्यालय तथा बैंकका अन्य संरचनामा भएको भौतिक क्षतिको विवरण संकलन गर्ने प्रयास भए पनि प्रभावित क्षेत्रमा पुग्न नसक्दा अवस्था यकिन गर्न कठिन भइरहेको उनले बताए। बैंकका शाखामा लकर तथा भल्ट रहे–नरहेको, भल्टमा कति रकम थियो र बाढीका कारण कति रकम तथा अन्य सम्पत्ति क्षति भयो भन्ने विवरणसमेत अहिले यकिन हुन नसकेको उनको भनाइ छ।
‘भौतिक क्षति निकाल्नै सकेका छैनौं। बिहीबार भौतिक क्षतिको विवरण संकलन गर्ने प्रयास गरे पनि सम्भव भएन,’ कोइरालाले भने, ‘सबै बैंकबाट विवरण मागिएको छ। अहिले प्रमाणीकरण गर्ने क्रममै छ।’
उनका अनुसार प्रभावित क्षेत्रमा रहेका बैंकका शाखा तथा सम्पत्तिको वास्तविक अवस्था पत्ता लगाउन थप समय लाग्नेछ। कर्मचारीहरूको अवस्थाबारे जानकारी प्राप्त गर्नु र त्यसपछि मात्र शाखा कार्यालय तथा बैंकका सम्पत्तिमा भएको क्षतिको विस्तृत मूल्यांकन गर्न सकिने बैंकर्स एसोसिएसनले जनाएको छ।







प्रतिक्रिया