पोखरा विश्वविद्यालयमा डिन नियुक्तिका लागि आवेदन आह्वान, यस्तो छ मापदण्ड

पोखरा विश्वविद्यालयले चारवटा संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदमा योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो।

विश्वविद्यालयले डिन छनोट प्रक्रियालाई सम्बन्धित संकायको नेतृत्व क्षमता र विकासको स्पष्ट योजनासँग जोडेको छ। आवेदन दिने उम्मेदवारले व्यक्तिगत विवरणसँगै सम्बन्धित संकायको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना समेत पेश गर्नुपर्नेछ।

उम्मेदवारले पेश गर्ने कार्ययोजनामा संकायको वर्तमान अवस्था पहिचान गर्न SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, आवश्यक स्रोत तथा बजेट र अनुगमन तथा मूल्यांकनको खाका समेट्नुपर्ने विश्वविद्यालयले जनाएको छ।

खुला प्रतिस्पर्धाबाट डिन छनोट गर्दा शैक्षिक योग्यता र अनुभवसँगै सम्बन्धित संकायको विकासका लागि उम्मेदवारले प्रस्तुत गर्ने रणनीतिक दृष्टिकोण तथा त्यसलाई कार्यान्वयन गर्न सक्ने क्षमतालाई समेत आधार बनाइने विश्वविद्यालयको भनाइ छ।

विश्वविद्यालयले डिन नियुक्तिको प्रक्रियामार्फत संकायको शैक्षिक गुणस्तर, प्रशासनिक क्षमता तथा दीर्घकालीन रणनीतिक नेतृत्वलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ। चारवटै संकायमा नेतृत्व चयन भएपछि शैक्षिक तथा प्रशासनिक गतिविधिलाई योजनाबद्ध रूपमा अघि बढाउन सहज हुने विश्वविद्यालयको विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित समाचार