शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्री पोखरेलको निर्देशन

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन्।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षक सेवा आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालसहित नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा मन्त्री पोखरेलले शिक्षक भर्ना, बढुवा, परीक्षा प्रणाली तथा पाठ्यक्रम सुधारलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरे। आयोगको कामलाई समयअनुकूल बनाउन आवश्यक ऐन, नियमावली तथा नीतिगत व्यवस्थामा समेत सुधार गर्नुपर्ने उनले बताए।

मन्त्री पोखरेलले विद्यालयमा शिक्षक दरबन्दी मिलान, परीक्षा प्रणालीमा सुधार र समयमै परीक्षाफल प्रकाशनलाई विशेष प्राथमिकता दिन निर्देशन दिए। शिक्षक छनोट र व्यवस्थापन प्रक्रियालाई प्रभावकारी बनाउन आयोगले आफ्नो कार्यसम्पादनमा सुधार ल्याउनुपर्नेमा उनले जोड दिए।

विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै मन्त्री पोखरेलले प्रस्तावित ऐनमा शिक्षक सेवा आयोगसँग सम्बन्धित विषयलाई समेत समेटिने बताए। शिक्षा क्षेत्रको समग्र सुधारसँगै शिक्षक व्यवस्थापनलाई व्यवस्थित बनाउन कानुनी र संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ थियो।

हालै बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका डा. हरिप्रसाद लम्साललाई शिक्षक सेवा आयोगको अध्यक्ष तथा मकवानपुरका रामशरण सापकोटा र काठमाडौंका विष्णु घिमिरे रिमाललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।

छलफलमा आयोगका अध्यक्ष डा. लम्सालले आयोगलाई गतिशील र नतिजामुखी बनाउन काम अघि बढाइसकेको बताए। आयोगको प्रभावकारिता बढाउन तथा शिक्षक व्यवस्थापन प्रणालीमा सुधार ल्याउन नीतिगत र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि आयोगले पहल थालेको जानकारी उनले दिए।

छलफलमा मन्त्रीको सचिवालय तथा शिक्षा मन्त्रालयका उच्च अधिकारीहरूको समेत उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार