निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ ।
प्याब्सनका अनुसार रसुवा, नुवाकोटलगायतका जिल्लामा बाढी तथा विपद्बाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापनाका लागि देशभरका सदस्य विद्यालयबाट रकम संकलन गरिएको हो । करिब ६ हजार ५ सयभन्दा बढी सदस्य विद्यालय रहेको प्याब्सनले विपद्को समयमा राज्यलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम जुटाएको जनाएको छ ।
प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले सदस्य विद्यालयले आफ्ना नियमित सञ्चालन खर्च, शिक्षक तथा कर्मचारीको दायित्व र सरकारलाई बुझाउनुपर्ने करलगायतका जिम्मेवारी व्यवस्थापन गर्दै पनि विपद्का लागि सहयोग गरेको बताए । अपेक्षा गरिएकोभन्दा बढी रकम संकलन भएको उल्लेख गर्दै उनले विद्यालयबाट प्राप्त सहयोगको विवरण व्यवस्थित र पारदर्शी रूपमा राखिएको जानकारी दिए ।
विद्यालयहरूबाट संकलित रकमको विवरण सम्बन्धित जिल्लाबाट प्रदेश हुँदै केन्द्रीय तहमा संकलन गरिएको प्याब्सनले जनाएको छ । संकलनको समग्र विवरण सरकारलाई समेत उपलब्ध गराइने बताइएको छ । सहयोगमा सहभागी विद्यालय तथा संस्थालाई सरकारसँगको समन्वयमा योगदानको कदरस्वरूप प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिने अध्यक्ष अधिकारीले बताए ।
प्याब्सनले सरकारको राहत कोषमा रकम हस्तान्तरण गर्नुका साथै विपद्बाट प्रत्यक्ष प्रभावित आफ्ना सदस्य विद्यालयको पुनःस्थापना र पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेको छ ।
प्याब्सनका महासचिव आरबी कटुवालका अनुसार रसुवा र नुवाकोटमा रहेका पाँच सदस्य विद्यालय बाढीबाट गम्भीर रूपमा प्रभावित भएका छन् । ती विद्यालयको भौतिक संरचना पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्याब्सनले २ करोड रुपैयाँ छुट्याएको छ ।
भदौ ३१ गते राति १२ बजेसम्म थप सहयोग रकम संकलन गर्ने तयारी रहेको प्याब्सनले जनाएको छ । उक्त अवधिमा संकलन हुने रकममध्ये प्रभावित पाँच विद्यालयका लागि छुट्याइएको २ करोड रुपैयाँबाहेक बाँकी सम्पूर्ण रकम नेपाल सरकारको विपद् राहत कोषमा पठाइने महासचिव कटुवालले जानकारी दिए ।
प्याब्सनले निजी विद्यालयलाई शिक्षण संस्थाको भूमिकामा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाका रूपमा प्रस्तुत गरेको छ । विपद्का समयमा विद्यालय, शिक्षक, अभिभावक तथा विद्यार्थीबाट प्राप्त सहयोगले राष्ट्रिय एकता र सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धता देखाएको अध्यक्ष अधिकारीको भनाइ छ ।
प्याब्सनले बाढी तथा विपद्का क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभ र सामान्य जनजीवनमा फर्किन सक्ने वातावरण निर्माणका लागि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।










प्रतिक्रिया