इम्बार्क कलेजले २ करोड ७० लाखको पूर्ण छात्रवृत्ति दिने, बाढी प्रभावित २० विद्यार्थी लाभान्वीत हुने

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारका विद्यार्थीको उच्च शिक्षा निरन्तरता सुनिश्चित गर्न इम्बार्क कलेजले २ करोड ७० लाख रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ।

बाढी तथा प्राकृतिक विपद्का कारण परिवारको आर्थिक अवस्था कमजोर हुँदा विद्यार्थीको उच्च शिक्षा प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै कलेजले पाँच वर्षसम्म छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने भएको हो। कलेजका अनुसार प्रत्येक वर्ष चार जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। यसबाट पाँच वर्षको अवधिमा २० जना विद्यार्थी लाभान्वित हुनेछन्।

छात्रवृत्ति एमबीए तथा बीएस्सी बिजनेस म्यानेजमेन्ट कार्यक्रममा अध्ययन गर्न चाहने भोटेकोशी बाढी प्रभावित परिवारका विद्यार्थीलाई उपलब्ध गराइनेछ। परिवारको आम्दानी र सम्पत्तिमा विपद्का कारण क्षति पुगेपछि उच्च शिक्षाको खर्च धान्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई अध्ययन निरन्तरता दिन यसले सहयोग पुग्ने कलेजको अपेक्षा छ।

कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले विपद्का कारण कुनै पनि विद्यार्थी आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अघि सारिएको बताए। सरकारले बाढी प्रभावित परिवारका विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी अघि सारेको छात्रवृत्ति पहललाई उच्च शिक्षा तहसम्म सहयोग पुर्‍याउने उद्देश्यले कलेजले आफ्नोतर्फबाट पूर्ण छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको उनको भनाइ छ।

प्राकृतिक विपद्ले घर, सम्पत्ति तथा आयआर्जनका स्रोतमा क्षति पुर्‍याउँदा त्यसको प्रत्यक्ष असर विद्यार्थीको शिक्षामा समेत पर्ने भएकाले राहत र पुनर्स्थापनासँगै शिक्षाको निरन्तरतालाई पनि प्राथमिकतामा राख्नुपर्ने कलेजको धारणा छ। तत्कालीन राहतपछि परिवार पुनः आर्थिक रूपमा स्थापित हुन समय लाग्ने अवस्थामा उच्च शिक्षाको शुल्क धान्न नसक्ने विद्यार्थीका लागि पूर्ण छात्रवृत्ति दीर्घकालीन सहयोग बन्न सक्ने देखिन्छ।

इम्बार्क कलेजले छात्रवृत्तिसँगै बाढी प्रभावित नागरिकको तत्कालीन राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोगसमेत गरेको छ। कलेज, कर्मचारी तथा विद्यार्थीबाट संकलित ६ लाख ७७ हजार ८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कलेजले जनाएको छ।

विपद्का समयमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि राज्यले सञ्चालन गर्ने अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम संकलन गरी कोषमा जम्मा गरिएको हो। कलेजका अनुसार संस्थागत रूपमा मात्र नभई कर्मचारी र विद्यार्थीको सहभागितामा गरिएको सहयोगले विपद्का बेला सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई समेत अघि सारेको छ।

शैक्षिक संस्थाबाट विपद् प्रभावित विद्यार्थीका लागि गरिएको यस्तो पहलले तत्कालीन राहतलाई दीर्घकालीन शैक्षिक अवसरसँग जोड्ने प्रयासका रूपमा अर्थ राख्ने देखिन्छ। बाढीका कारण प्रभावित परिवारको आर्थिक अवस्था कमजोर हुँदा विद्यार्थीले पढाइ रोक्नुपर्ने वा उच्च शिक्षा रोजाइबाट पछि हट्नुपर्ने जोखिम रहने भएकाले छात्रवृत्तिले त्यस्तो अवस्था न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

इम्बार्क कलेजले आगामी दिनमा पनि शिक्षा र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै समुदायको आवश्यकता र परिस्थितिअनुसार सहयोग तथा सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार