शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घका प्रतिनिधिबीच छलफल, विद्यालय शिक्षा ऐन छिट्टै टुङ्ग्याउने प्रतिबद्धता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै छुटेका विषय तथा सरोकारवालाबाट प्राप्त सुझाव समेटेर ऐनलाई शीघ्र टुङ्गोमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बुधबार नेपाल शिक्षक महासङ्घका अध्यक्ष सुवेदीसहित प्रतिनिधिसँग भएको छलफलमा मन्त्री पोखरेलले शिक्षक महासङ्घले विगतदेखि उठाउँदै आएका विषयलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्दै अघि बढ्ने धारणा राखे।

छलफलमा विद्यालय शिक्षा ऐनलाई शीघ्र निष्कर्षमा पुर्‍याउने विषयसँगै हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन आवश्यक उपायबारे समेत छलफल भएको थियो। विपद्का कारण विद्यार्थीको पठनपाठन प्रभावित हुन नदिन आवश्यक समन्वय र वैकल्पिक व्यवस्थामा ध्यान दिनुपर्नेमा सहभागीले जोड दिए।

मन्त्री पोखरेलले नयाँ शिक्षा ऐनले गुणस्तरीय शिक्षाको सुनिश्चिततासँगै विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा हासिल गर्ने वातावरण निर्माणमा जोड दिने बताए। विद्यालय शिक्षा तथा उच्च शिक्षा सुधारका लागि सबै सरोकारवाला जिम्मेवार भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

विद्यार्थीलाई अध्ययनका लागि विदेशिनुपर्ने अवस्था कम गर्न स्वदेशमै गुणस्तरीय शिक्षा र पर्याप्त अवसरको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता रहेको मन्त्री पोखरेलको भनाइ थियो। शिक्षा क्षेत्रको सुधारका लागि सरकार, शिक्षक, अभिभावक, विद्यार्थी र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।

विपद्का समयमा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विद्यालय तहबाटै पूर्वतयारी आवश्यक रहेको भन्दै मन्त्री पोखरेलले विद्यालयमा समय–समयमा विपद् व्यवस्थापनसम्बन्धी अभ्यास सञ्चालन गर्नुपर्ने धारणा राखे।

शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विद्यालय शिक्षा सुधारका लागि विद्यालय शिक्षा ऐनलाई थप समृद्ध बनाएर अघि बढाउनुपर्ने बताए। शिक्षा क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र शिक्षक महासङ्घबीचको सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा उनले जोड दिए।

मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले शिक्षक महासङ्घले उठाउँदै आएका विषयलाई प्रक्रियागत रूपमा संवाद र सहमतिका माध्यमबाट अघि बढाउनुपर्ने धारणा राखे।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष सुवेदीले महासङ्घले उठाउँदै आएका सवाल संवादमार्फत समाधान गर्न सकिने बताए। विद्यालय शिक्षा ऐन शीघ्र जारी भए शिक्षक महासङ्घ सबैभन्दा खुसी हुने उल्लेख गर्दै उनले मन्त्रालयसँगको निरन्तर संवाद र सहकार्यबाट शिक्षा क्षेत्रका समस्या समाधान गर्न सकिने धारणा राखे।

छलफलमा सहभागी विभिन्न शिक्षक सङ्गठनका पदाधिकारीले पनि मन्त्रालय र शिक्षक महासङ्घबीच संवाद तथा सहकार्यलाई निरन्तरता दिँदै सहमतिका आधारमा शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार