दुबईमा सफल उद्यमी पुडासैनीद्वारा कोषमा ५१ लाखभन्दा बढी सहयोग

काठमाडौँ। दुबईलाई कर्मथलो बनाएर प्रविधि तथा औद्योगिक क्षेत्रमा सफल पहिचान बनाएका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु ५१ लाख ५१ हजार १११ सहयोग गरेका छन्।

देशमा परेको प्राकृतिक विपद्‌बाट प्रभावित बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि उनले उक्त रकम सहयोग गरेका हुन्। नेपाल आएर आफ्ना बुबा गोपीप्रसाद पुडासैनीको उपस्थितिमा उद्यमी पुडासैनीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरे।

रकम हस्तान्तरणका क्रममा बोल्दै उनले विदेशमा रहे पनि आफ्नो मन सधैँ नेपालमै हुने भएकाले मातृभूमिको संकटमा सघाउनु आफ्नो जिम्मेवारी रहेको बताए। साथै, उनले प्रवासमा रहेका अन्य नेपालीहरूलाई पनि देशलाई परेको अप्ठ्यारो समयमा आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरे।

विगत दुई दशकदेखि खाडी क्षेत्रमा क्रियाशील पुडासैनी सन् २०१५ मा दुबईमा स्थापित ‘हाइड्रोजेट ग्लोबल टेक्नोलोजी एन्ड सर्भिस ग्रुप’का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) हुन्। उनको कम्पनीले पाइपलाइन, ट्यांकी, टनेल तथा औद्योगिक संरचना मर्मतसम्भारसम्बन्धी उच्च प्रविधिको सेवा प्रदान गर्दै आएको छ। हाल युएई र ओमानमा व्यवसाय विस्तार गरिसकेको कम्पनीले कतारमा पनि सेवा सुरु गर्ने तयारी गरिरहेको छ।

लामो समयदेखि व्यक्तिगत रूपमा सामाजिक कार्यमा सक्रिय पुडासैनीले आफ्ना सामाजिक सहयोगलाई थप व्यवस्थित र संस्थागत बनाउन पुडासैनी परिवार र हाइड्रोजेट ग्रुपको संयुक्त पहलमा नेपालमा एक पारिवारिक फाउन्डेसनसमेत स्थापना गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार