नेपाली सेना : हवाई माध्यमबाट ४ हजार ८१ जनाको उद्धार

बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोटसहितका विभिन्न जिल्लामा नेपाली सेनाले हवाई तथा जमिनी खोज, उद्धार, राहत र आपत्कालीन उपचारलाई तीव्रता दिएको छ। सेनाले आज साँझ ६ः३० बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत ८१ जनाको उद्धार गरेको छ।

यससँगै हालसम्म हवाई साधनमार्फत उद्धार हुनेको सङ्ख्या ४ हजार ८१ पुगेको छ। उद्धार गरिएकामध्ये ३ हजार ७ सय ९८ जना नेपाली र २ सय ८३ जना विदेशी रहेका छन्।

बाढी तथा पहिरोका कारण क्षति पुगेका जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा समेत नेपाली सेनाले विशेष टोली परिचालन गरी खोजी तथा उद्धारलाई निरन्तरता दिएको छ।

रसुवागढी जलविद्युत् आयोजनामा ‘कम्पोजिट क्विक रियाक्सन टिम’ तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त खोज तथा उद्धार टोली पावरहाउस, ट्रान्सफर्मर कक्ष र नियन्त्रण कक्षसम्म पुगेर थप खोजी गरिरहेको छ।

रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेनाको खोज तथा उद्धार टोली करिब ५० मिटरभित्र प्रवेश गरी खोजी गर्दा एक शव फेला पारेको छ। त्यहाँ थप खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।

लाङटाङ जलविद्युत् आयोजनामा पनि संयुक्त उद्धार टोलीले खोजी कार्य जारी राखेको छ। सुरुङभित्रको पानीको मात्रा घटाउन च्यानल निर्माणको कामसमेत भइरहेको छ।

चिलिमे जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहितको संयुक्त टोली सुरुङभित्र करिब १४० मिटर प्रवेश गरी खोजी गरिरहेको छ। संयुक्त टोलीले ‘अवतार ड्रोन’मार्फत समेत करिब ४० मिटर क्षेत्रसम्म खोजी गरेकोमा हालसम्म केही फेला नपरेको जनाइएको छ।

सुरुङसम्म भारी उपकरण लैजान पहुँचमार्ग निर्माण भइरहेको छ। चट्टानी भूभागमा करिब २५ मिटर क्षेत्र विस्फोट गराएर हटाउनुपर्ने अवस्था रहेको र त्यस स्थानसम्म पुग्न अझै करिब ५० मिटर बाटो निर्माण गर्न बाँकी रहेको सेनाले जनाएको छ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको हाकुबेशीस्थित ‘अडिट–३’ सुरुङमा विदेशी प्राविधिकसहितको संयुक्त टोली करिब १ हजार २ सय मिटरभित्र प्रवेश गरी खोजी कार्य गरेको छ। उक्त क्रममा हालसम्म कुनै वस्तु वा व्यक्ति फेला नपरेको जनाइएको छ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावरहाउस तथा सुरुङ क्षेत्रमा पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले सुरुङ तथा पावरहाउस क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।

त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ८७, नेपाल प्रहरीका ४ र सशस्त्र प्रहरी बलका १० जनासहित आयोजनाका प्रतिनिधिहरूको संयुक्त टोलीले तीन वटा उत्खनन उपकरण प्रयोग गरी खोजी गरिरहेको छ। करिब ११ मिटर गहिराइमा उत्खनन गर्ने क्रममा करिब चार फिटको बीम वा पिलरसहित केही इँटाहरू फेला परेका छन्। त्यस क्षेत्रमा थप खोजी भइरहेको छ।

यसैबीच नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ टोलीले पुल निर्माणको कामलाई तीव्र बनाएको छ। सेनाका ५५ जना जनशक्ति परिचालन गरी नदीमाथि पुल निर्माणको काम भइरहेको छ।

जमिनी खोज तथा उद्धारलाई पनि सेनाले प्राथमिकताका साथ अघि बढाएको छ। रसुवा र नुवाकोटका कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, मैलुङ, स्याफ्रुबेंसीलगायत प्रभावित क्षेत्रमा सेनाका टोलीले पैदल गस्ती गरी बेपत्ता तथा प्रभावितको खोजी गरिरहेका छन्।

विदेशी प्राविधिकसहितको संयुक्त टोलीले देवीघाट आसपास करिब पाँच किलोमिटर क्षेत्र तथा टिमुरेमा ‘थर्मल ड्रोन’ प्रयोग गरी खोजी गरेको छ। हालसम्म त्यहाँबाट कुनै व्यक्ति वा वस्तु फेला नपरेको जनाइएको छ।

विपद्का कारण घाइते तथा बिरामी भएकालाई उपचार सेवा उपलब्ध गराउन नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा चिकित्सकीय गस्तीमार्फत आज थप २४ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ। यससँगै हालसम्म ती स्वास्थ्य केन्द्र तथा चिकित्सकीय सेवाबाट ३ हजार ५ सय ५९ जनाले सेवा लिइसकेका छन्।

सेनाले रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा जनशक्ति परिचालन गरेको छ। ती क्षेत्रमा नेपाली सेनाका ८ हजार ८ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिएका छन्।

परिचालित टोलीले घाइते तथा बेपत्ताको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने तथा आपत्कालीन उपचारलगायतका कामलाई समन्वयात्मक रूपमा अघि बढाइरहेको छ।

विपद्पछिको पुनःस्थापना तथा उद्धारका चुनौतीपूर्ण कामहरूबीच नेपाली सेनाले हवाई, जमिनी र प्राविधिक माध्यमको प्रयोग बढाउँदै खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिको खोजी, अवरुद्ध भौतिक संरचना सञ्चालन र प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य तथा राहत सेवा पुर्‍याउने कामलाई प्राथमिकतामा राखिएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार