अनुसन्धानबाट प्राप्त ज्ञान र प्रविधिलाई कागज तथा अनुसन्धानपत्रमा मात्र सीमित नराखी व्यवसाय, प्रविधि, पर्यटन तथा आतिथ्य क्षेत्रमा व्यवहारमा प्रयोग गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
मिड भ्याली इन्टरनेसनल कलेजले ‘डिजिटल ट्रान्सफर्मेसन एन्ड इनोभेसनः सेपिङ द फ्युचर अफ बिजनेस, टेक्नोलोजी एन्ड हस्पिटालिटी’ विषयमा आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी वक्ताहरूले अनुसन्धान, नवप्रवर्तन र प्रविधिलाई व्यावहारिक प्रयोगसँग जोड्नुपर्ने धारणा राखेका हुन्।
कार्यक्रममा कलेजकी अध्यक्ष रितल राणाले अनुसन्धानले नयाँ ज्ञान, प्रविधि र आविष्कारको सम्भावना बढाउँदै लगे पनि त्यसबाट प्राप्त उपलब्धिलाई व्यवहारमा प्रयोग गर्न सक्नुपर्नेमा जोड दिइन्। अनुसन्धान गर्ने र अनुसन्धानपत्र तयार गर्ने काममा मात्रै सीमित नरही त्यसबाट प्राप्त निष्कर्ष कुन क्षेत्रमा उपयोगी हुन्छ भन्ने पहिचान गरी कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो।
अनुसन्धानलाई समाजका समस्या समाधान र देशको विकाससँग जोड्नुपर्ने उल्लेख गर्दै राणाले विद्यार्थी तथा अनुसन्धानकर्तालाई नयाँ विषयमा खोज तथा अध्ययनका लागि प्रोत्साहित गर्नुपर्ने धारणा राखिन्। कलेजबाट भइरहेका अनुसन्धान आगामी दिनमा देशका विभिन्न क्षेत्रमा उपयोग गर्न सकिने प्रकृतिका हुनुपर्नेमा उनले जोड दिइन्।
कलेजका रिसर्च हेड डा. पदम डंगोलले अनुसन्धान सम्मेलनलाई अनुसन्धान प्रस्तुत गर्ने मञ्चका रूपमा मात्र नभई नयाँ विचार आदानप्रदान र भविष्यका अनुसन्धानका लागि आधार तयार गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। अहिले गरिएको अनुसन्धानको परिणामले आगामी दिनमा नयाँ ज्ञान, प्रविधि र समाधान विकासमा योगदान गर्न सक्ने उनको भनाइ थियो।
अनुसन्धानका माध्यमबाट विद्यार्थीमा नयाँ सोच, आत्मविश्वास र क्षमता विकास हुने उल्लेख गर्दै डंगोलले अनुसन्धानलाई विद्यार्थीको अध्ययनमा मात्र सीमित नराखी समाज र राज्यको आवश्यकतासँग जोड्नुपर्ने बताए। आगामी वर्ष मिड भ्याली कलेजको सम्मेलनलाई राष्ट्रियबाट अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले स्वदेश तथा विदेशका अनुसन्धानकर्ता, विज्ञ र प्राज्ञिक व्यक्तिलाई सहभागी गराउने योजना रहेको बताए। सम्मेलनमा प्रस्तुत अनुसन्धानपत्रलाई आगामी महिनामा शोधलेखका रूपमा प्रकाशन गर्ने तयारीसमेत रहेको उनले जानकारी दिए।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. सतीशकुमार ओझाले प्रविधिको तीव्र विकाससँगै मानिसको काम गर्ने शैली, व्यवसाय सञ्चालन र सेवा प्रवाहमा समेत व्यापक परिवर्तन भइरहेको बताए। दिगो विकासका लागि नयाँ प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको उल्लेख गर्दै उनले प्रविधिलाई उत्पादनशीलता बढाउने, सेवा सहज बनाउने र जीवनलाई सरल बनाउने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने धारणा राखे।
कृत्रिम बौद्धिकताको तीव्र विकास भइरहेको अवस्थामा विद्यार्थी तथा अनुसन्धानकर्ताले यसको सही उपयोग गर्ने क्षमता विकास गर्नुपर्नेमा ओझाले जोड दिए। एआईलाई व्यवसाय, शिक्षा, पर्यटनलगायत विभिन्न क्षेत्रमा उपयोग गर्न सकिने उल्लेख गर्दै उनले प्रविधिलाई मानिसको प्रतिस्पर्धीभन्दा पनि सहयोगीका रूपमा बुझ्नुपर्ने बताए।
एआईका कारण रोजगारी गुम्ने चिन्ता बढे पनि मानिसले गर्ने सबै कामलाई यसले पूर्ण रूपमा विस्थापित गर्न नसक्ने उनको भनाइ थियो। नर्सिङ, अध्यापन, परामर्श तथा यात्रालगायतका क्षेत्रमा मानवीय संवेदना, अनुभव र प्रत्यक्ष अन्तरक्रिया आवश्यक हुने भएकाले एआईले त्यस्ता कामलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न नसक्ने उनले बताए। नयाँ काम गर्दा सुरुवाती चरणमा गल्ती हुनु स्वाभाविक भएकाले त्यसबाट सिक्दै निरन्तर प्रयास गर्न उनले विद्यार्थीलाई आग्रह गरे।
सम्मेलनमा आचार्य श्री महेन्द्र वसिष्ठले वैज्ञानिक अनुसन्धान र आध्यात्मिक यात्राबीचको सम्बन्धबारे प्रस्तुति दिएका थिए। आधुनिक जीवनशैलीका कारण मानसिक तनाव र असन्तुलन बढ्दै गएको उल्लेख गर्दै उनले मानसिक शान्तिका लागि ध्यान तथा मेडिटेसनजस्ता अभ्यास आवश्यक रहेको धारणा राखे। विज्ञान तथा प्रविधिको विकाससँगै मानिसको आन्तरिक शान्ति र मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
सम्मेलनमा व्यवसाय, प्रविधि, पर्यटन, वातावरण, डिजिटल वित्तीय सेवा, स्वास्थ्य, यातायात तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित विभिन्न अनुसन्धानपत्र प्रस्तुत गरिएको थियो। पोखरा उपत्यकाको पर्यटन क्षेत्रमा कृत्रिम बौद्धिकताको प्रभाव, काठमाडौं रिङरोड क्षेत्रमा सहरी हरित क्षेत्रको परिवर्तन, नेपालका तालको पानीको सतहको तापक्रम, दिगो पर्यटन र विश्वविद्यालयका विद्यार्थीको प्रारम्भिक सार्वजनिक निष्कासनमा सहभागितालगायत विषयमा अनुसन्धान प्रस्तुत गरिएको थियो।
त्यसैगरी विद्युतीय सवारीसाधनको ब्याट्री, डिजिटल भुक्तानी, डिजिटल वित्तीय सेवा, सार्वजनिक यातायात, डिजिटल वालेट, डिजिटल साक्षरता, इन्सुरटेक, मेसिन लर्निङ, स्वास्थ्य अभिलेख व्यवस्थापन, डिजिटल स्वास्थ्य, सूचना सुरक्षा तथा गोपनीयता, संस्थागत सुशासन र डिजिटल उद्यमशीलतासम्बन्धी अनुसन्धानसमेत सम्मेलनमा प्रस्तुत गरिएको थियो।








प्रतिक्रिया